हृदयभरि ब्युटी पेजेन्ट


कुशल लेखक तथा निर्देशक सुरज सुब्बा ‘नाल्बो’ को निर्देशनमा निर्माणाधीन फिल्म हृदयभरिको छायांकन शुक्रबारबाट शुरू भएको छ। गत पुषमा घोषणा गरिएको फिल्मको छायांकन शुरू गरिएको हो।

निर्देशक सुब्बाका अनुसार लगभग ४५ दिनमा यो फिल्मको सुटिङ पूरा हुनेछ। शुक्रबार राजधानीको द भ्वाइस अफ नेपालको सेट परिवर्तन गरी ब्युटी पेजेन्टको सिन छायांकन गरिएको छ। ‘यो फिल्मको महŒवपूर्ण सिन हो। जसले फिल्मलाई एउटा अर्कै मोड दिन्छ।

यो ब्युटी पेजेन्टको फिनालेको दृश्यको सजावट हो’ –सुब्बाले भने। शुक्रबारको सिनका लागि सुटिङ सेटमा झन्डै १५ बढी व्यावसायिक मोडेलसँगै डेब्यु गर्ल श्रद्धा क्षेत्री र रेखा लिम्बुलाई कोरियोग्राफर जयन सुब्बा मानन्धरले कोरियोग्राफ गरिरहेकी थिइन्। फिल्मको यस दृश्यलाई निर्देशक सुब्बाले ४ वटा क्यामेराले कैद गरेका छन्।

उनले फिल्म काठमान्डुको विषयमा रहेको तथा यसको गीत धरान र विदेशमा खिचिने बताए। ‘यो सोसल ड्रामा हो तर फिल्म भरपुर मनोरन्जनले भरिपूर्ण हुनेछ’ –निर्देशक सुब्बाले भने। उनकै लेखनमा बन्ने फिल्ममा पल शाह, नीर शाह, सुनील थापा, काश बाबु, अनुराग कुँवर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु, मनोज केसी, कविता रेग्मी, अभिदिथ खाती, बिके श्रेष्ठ, दीपक गजमेर, प्रेम श्रेष्ठ, हटिनटी अनुपम श्रेष्ठ, आयुष्मान घिमिरे, सुमनश्रीलगायतको अभिनय रहनेछ। फिल्ममार्फत श्रद्धा क्षेत्री नेपाली फिल्ममा डेब्यु गर्दै छिन्। भारतको कोलकातामा बसोबास गर्दै आएकी श्रद्धा भारतको चिरपरिचित मोडल हुन्।

‘पहिलो दिन केही नर्भस पनि छु। तर सिन सजिलो नै छ। किनकि यो मैले गरिरहेको काम नै हो। मैले मोडलका रूपमा यस किसिमको ब्युटी पेजेन्टमा सहभागिता जनाइसकेकी छु भने हेरेकी पनि छुु’, नवनायिका श्रद्धा भन्छिन्– ‘त्यसैले आजको दृश्य सहज छ। अहिलेको सिनमा हामी एउटा ब्युटी पेजेन्टमा सहभागी भइरहेका छौं र यो फिनाले हो। दृश्य यस्तै छ तर यही दृश्यले फिल्मको मूल कथा बोकेको छ।’

एन फिल्म्स एन्ड क्रिएसन, शाह प्रोडक्सन प्रालि र दीपीन्द्र फिल्म्सको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दीपीन्द्र राईको निर्माणमा निर्माणाधीन त्रिकोणात्मक प्रेमकथाको फिल्ममा सौरभ विश्वास र रुचि विश्वास सहनिर्माता छन्। फिल्ममा केदार भुसालको लेखन, अर्जुन पोखरेल, हरि लम्साल र दीपक शर्माको संगीत, कविराज गहतराज र प्रवीण सिंहको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन र विपीन मल्लको सम्पादन रहेको छ। फिल्मको रिलिज डेट आगामी भदौ २७ गते तोकिएको छ।