नेपाल बारको निर्वाचन आज


काठमाडौं, (नेस)
नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमितिको निर्वाचन आज शनिबार देशैभर हुँदै छ। देशभरमा हुने निर्वाचनले २५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने भएको छ।
जसमा देशमा सत्ता पक्ष र प्रतिपक्षमा रहेका मुख्य दलहरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस निकट दुई कानुन व्यवसायी संगठनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा उभिएका छन्।

नेकपा निकट प्रगतिशील, पेसागत तथा समावेशी कानुन व्यवसायी समूह र नेपाली कांग्रेस निकट बृहत् लोकतान्त्रिक समूहका तर्फबाट आ–आफ्नो उम्मेदवारलाई दरिलोरूपमा प्रस्तुत गरेको छ भने नेतृत्वसहितको पुरै टिम आफ्नै पक्षबाट हुने दुवै पक्षले दाबी गरेका छन्।

अध्यक्षका लागि प्रगतिशीलले वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठलाई अघि सारेको छ भने लोकतान्त्रिकले अधिवक्ता सुनिलकुमार पोखरेललाई उम्मेदवार बनाएको छ। त्यस्तै महासचिवमा प्रगतिशीलबाट अधिवक्ता सुरेन्द्रबहादुर थापा र लोकतान्त्रिकले अधिवक्ता लिलामणि पौडेललाई उम्मेदवारका रूपमा प्रस्तुत गरेको छ।

एक महासचिवका लागि प्रतिस्पर्धी उम्मेदवार तीन जना रहेका छन् भना एक जना अध्यक्षका लागि भने ८ जना प्रतिस्पर्धी उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ।
देशभरको जिल्ला, उच्च र सर्वाेच्च अदालत गरी ८७ वटा एकाइले ३५ मतदान केन्द्रमा शान्तिपूर्ण तवरले मतदान हुने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले बताउनुभयो।

अध्यक्ष एक, सातै प्रदेशबाट १÷१ र खुला क्षेत्र महिला गरी ८ जना उपाध्यक्ष, महासचिव १, कोषाध्यक्ष १, दलितबाट सदस्य १, मधेसी÷ मुस्लिम उपत्यका बाहिर र खुला गरी २ सदस्य, आदिवासी÷जनजाति उपत्यकाबाहिर र खुला गरी २ सदस्य, काठमाडौं उपत्यका बाहिर र खुला गरी २ महिला सदस्य, सदस्य खुला क्षेत्रमा उपत्यकाबाहिरका १ र खुला ६ गरी ७ सहित २५ जनाको कार्यसमितिका लागि निर्वाचन हुँदै छ।

देशैभर गरेर १० हजार ३ सय १३ मतदाताले विभिन्न पदका ६५ उम्मेदवार मध्येबाट २५ जनाको केन्द्रीय कार्यसमिति चुन्दै छ।