मीनाको स्वरमा मेलवादेवीको गीत

0
Shares

शहीद शुक्रराज शास्त्री नेपाली प्रजातान्त्रिक इतिहासका महानायक हुन्। २००७ सालको क्रान्तिमा दिएको बलिदानबाटै उनलाई सबैले चिन्दै आएका छन्। तर, शुक्रराज गीतकार पनि हुन् भन्ने थोरैलाई थाहा छ।

गीतकारका रूपमा पनि उनले आफूलाई उत्तिकै युगद्रष्टा प्रस्तुत गरेका थिए। उनका गीतका शब्दमा त्यो कालखण्डका पनि नारीप्रतिको सम्मान झल्कन्छ। गीतको शब्दले भन्छ न घरलाई घर कहिन्छ, नारी नै दरबार हो। यो गीतमा स्वर दिने अर्की नेपाली ऐतिहासिक पात्र हुन्, पहिलो नेपाली गायिका मेलवादेवी। चन्द्रशमशेरको दरबारमा गायिकाका रूपमा सेवारत मेलवादेवीका भोगाइहरू अहिले पनि दन्त्य कथा जस्तै नेपाली समाजले सुन्दै आएको छ। चन्द्रशमशेरको प्रिय हु“दाहु“दै पनि एक संगीतकर्मीकै प्रेममा दरबार छाडेकी मेलवादेवीले कालान्तरमा नेपाल छाडेर प्रवासमै जीवन बिताइन्।

संगीतकर्मीका अनुसार त्यो बेलाको गायकीका हिसाबले मेलवादेवीलाई दक्षिण एसियाकै स्तरमा राखेर तुलना गर्न सकिन्छ। त्यति उच्चस्तरकी गायिका थिइन् उनी। ओखलढुंगाको रुम्जाटारबाट आएकी यी गुरुङ चेलीले संगीतको साधना गर्दागर्दै कालान्तरमा शास्त्रीय स्वरलाई मिलाएर गाउन सक्ने अद्भूत कला विकास गरेकी थिइन्। गीतको बीच–बीचमा उनले लिने गरेका छोटा तान अहिले सुन्दा पनि गजबका लाग्छन्। उनको रेकर्ड भएका गीतमध्येमा सवारी मेरो रेलैमा बढी चर्चित छ। अर्को गीत हो न घरलाई घर कहिन्छ। रेकर्ड भइसके तापनि हिजोआज दुर्लभ भइसकेको शुक्रराज शास्त्री र मेलवादेवीको यो गीतलाई पलेंटी शृंखलाले अब आम स्रोताहरूको निम्ति युट्युबमा राखेको छ।

यस गीतलाई गत महिनाको पले“टी शृंखलामा गायिका मीना पोखरेल निरौलाले गाएकी थिइन्। मीनाको स्वरमा यो गीतले मेलवादेवीकै झलक आउने गरी गहनता पाएको प्रतिक्रिया स्रोताले दिएका थिए। मीनाले गाएको सबैजसो महान् गायिकाका गीतलाई क्रमशः युट्युबमा सार्वजनिक गर्ने योजना पलेंटी शृंखलाको छ। भर्खरै तयार पारिएको यो लाइभ भिडियोलाई पलेंटीको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ। झन्डै १३ वर्षदेखि चल्दै आएको पलेंटी बीचमा केही समय बन्द भएपछि गत महिनायता थिममा आधारित भएर निरन्तरता दिन थालिएको छ। गएको महिना यसले नेपालका महिला स्वरको सम्मानमा आफूलाई प्रस्तुत गरेको थियो।