नदी उत्खननमा प्रयोग गरिएका साधन नियन्त्रणमा

0
Shares

बर्दिवास ।
महोत्तरीको बर्दिवास नगरपालिका–६ किसाननगरका बासिन्दाले रातु नदीमा बालुवा र ढुङ्गा उत्खननमा प्रयोग गरिएका २४ यान्त्रिक साधन आज नियन्त्रणमा लिएका छन् ।

बस्ती नजिक रहेको रातु नदी बहाव क्षेत्रमा ठूल्ठूला खाल्डा खनेर बालुवा र ढुङ्गा निकाल्न तथा ओसार्न प्रयोग गरिएका १३ टिपर र ११ डोजर स्थानीयवासीले नियन्त्रणमा लिएका हुन् । क्रसर उद्योग सञ्चालकले नदी दोहन गर्न प्रयोग गरिएका साधन नियन्त्रणमा लिइएको हो । “बर्खामा बस्तीमा बाढी पस्ने स्थिति छ”, कृष्णपुर बस्तीका रामविलास महतोले भन्नुभयो । बर्दिवास–६ मा १० भन्दा बढी क्रसर उद्योग सञ्चालनमा छन् ।

जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहले प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका जनप्रतिनिधि र भूगर्भ विज्ञसहितको टोलीले उत्खननको अवस्था अनुगमन गर्ने जानकारी दिनुभयो । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले ठेकदारले मापदण्डविपरीत उत्खनन गरे कानूनी कारवाही गरिने बताउनुभयो ।
रासस