चिरञ्जीवी मास्के, दोलखा
जनक शिक्षा सामग्रीले सामुदायीक विद्यालयको पुस्तक ढुवानि गरेबापतको रकम सहज रुपमा नदिएको भन्दै दोलखाका पुस्तक बिक्रेताहरुले गुनासो गरेका छन् ।
सामुदायीक विद्यालयको पुस्तक बिक्रि गरेवापत पुस्तक बिक्रेतालाई कमिसन नौ प्रतिशत र ढुवानी खर्च चार प्रतिशत दिने समझदारी भएपनि ढुवानी खर्च लिने प्रावधान झन्झटिलो र अव्यवहारीक भएकोले समस्या हुने गरेको दोलखाका पुस्तक बिक्रेताहरुको गुनासो छ । विगतमा साँझा प्रकाशनबाट पुस्तक ल्याएर बिक्रि गर्दा सजिलै ढुवानी खर्च प्राप्त गर्न सकिने प्रावधान रहेको तर अहिले जनक शिक्षा सामग्रीले पुस्तक बिक्रि गर्न थालेपछि ढुवानी खर्च लिन धेरै झन्झटीलो प्रावधान राखेकोले समस्या हुने गरेको स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष नारायणबहादुर श्रेष्ठ बताउछन् ।
प्रकृया झन्झटीलो भएकै कारण २०७२ सालमा महासंघले एकद्वार प्रणालीको आधारमा पुस्तक ढुवानी गरेको चार लाख रुपैया समेत लिन बाँकी रहेको अध्यक्ष श्रेष्ठले बताए । जनक शिक्षा सामग्रीले पुस्तक बिक्रि गरेवापतको नौ प्रतिशत रकम पुस्तकको रकम बुझाउदा बिल काट्ने बेलामै कटाएर दिने गरेको तर ढुवानी खर्चको लागि भने पुस्तक बिक्रि गरेको बिलको कपि, विद्यालयको सिफारीस, सम्बन्धित गाँउपालिका तथा नगरपालिकाको सिफारसि लगायतका कागजपत्र खोज्ने भएकोले प्रकृया निक्कै झन्झटीलो हुने गरेको पुस्तक बिक्रेताहरुको गुनासो रहेको छ ।
जनक शिक्षा सामग्रीले बाँकी रहेको पुस्तक चाहि फिर्ता नलिने तर ढुवानी खर्च दिनचाहि अनावश्यक कागजात माग्ने गरेकोले समस्या हुने गरेको स्टेशनरी व्यवसायी महासंघ प्रदेश तीनको सदस्य एवं आचार्य बुक्स चरिकोटको प्रोपाईटर सकुन्तला आचार्य बताउछिन् । प्रकृया झन्झटीलो भएकै कारण आफुले भुकम्प पछि करिब पाँच लाख रुपैया ढुवानी खर्च वापतको रकम लिन बाँकी रहेको आचार्यको भनाई छ । जनक शिक्षा सामग्रीले पुस्तक खरीद गरे बापतको रकम लिदा कमिसनसंगै ढुवानी खर्च समेत कटाएर रकम लिनु पर्ने आचार्य बताउछिन् । पुस्तक बिक्रि गर्दा पनि जनक शिक्षा सामग्रीकै बिल चलाउनु पर्ने बाध्यता रहेको उल्लेख गर्दै आचार्य विद्यालयहरुलाई पुस्तक दिदा आफ्नै बिल चलाउन पाउनु पर्ने बताउछिन् ।
स्टेशनरी व्यवसायी महासंघ दोलखा शाखाका सचिव प्रकाश कार्की भने ढुवानी खर्च लिदा खरीद बिल, बिक्रि गरेको बिल र सम्बन्धित गाँउ तथा नगरपालिकाको सिफारीस लिएर गएपछि सजिलै ढुवानी खर्च पाईने भएकोले यसलाई धेरै झन्झटीलो मान्न नहुने बताउछन् । तर कमिसन जस्तै गरी सुरुमै ढुवानी खर्च समेत कटाएर पैसा लिदा सहज हुने उनको भनाई छ । स्टेशनरी व्यवसायी महासंघ दोलखा शाखाका पूर्व अध्यक्ष शिवहरी थापा भने प्रकृया झन्झटीलो भएकै कारण आफुले धेरै रकम ढुवानी वापतको लिन नसकेको बताउछन् । प्रकृयालाई सजिलो बनाउन जनक शिक्षा सामग्रीले बिल काट्दै ढुवानी खर्च र कमिसन कटाएर काट्नु पर्ने थापाको भनाई छ ।
दोलखा जिल्लामा झण्डै ३५ वटा जति स्टेशनरी तथा पुस्तक पसल रहेका छन् । त्यस मध्य लगभग १३ वटा पुस्तक पसलले सामुदायी विद्यालयको किताब बिक्रि वितरण गर्दै आएको स्टेशनरी व्यवसायी महासंघ दोलखा शाखाले जनाएको छ । ती पुस्तक पसलहरुले भुकम्प पछि सहजै ढुवानी खर्च लिन नसक्दा दोलखा जिल्लामा मात्र जनक शिक्षा सामग्रीसंग लाखौ रुपैया ढुवानी खर्च बाँकी रहेको महासंघले जनाएको छ ।











प्रतिक्रिया