नयाँ वर्षको अवसरमा औद्योगिक व्यापार मेला हुने

0
Shares

भक्तपुर,(नेस)
नयाँ वर्षको अवसरमा भक्तपुरमा बृहत औधोगिक मेलाको आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले नयाँवर्षको अवसरमा भक्तपुरमा “पाँचौ भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७५÷०७६ को आयोजना गर्ने भएको हो ।

संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दिप महतले मेला आगामी चैत्र २१ गतेदेखि बैशाख २ गतेसम्म १२ दिने मेला आयोजना हुने जानकारी दिनुभयो । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उदेश्यले नयाँवर्षको अवसरमा बृहत औद्योगिक तथा व्यापार मेला आयोजना गर्न लागेको उहाँले बताउनुभयो । भक्तपुरको सल्लाघारी स्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी जग्गामा मेलाको आयोजना गरिने जानकारी दिदै उहाँले मेलामा २०० भन्दा बढी स्टल रहने बताउनुभयो ।

मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहनेछ ।

पत्रकार सम्मेलनमा मेलाका संयोजक दिपक थापाले यसवर्षको मेलामा खुला भलिबल प्रतियोगिताको समेत आयोजना गर्ने जानकारी दिनुभयो । मेलामा अटोमोवाईल, अन्तराष्ट्रिय खाना महोत्सव तथा राष्ट्रिय एवं स्थानीय खाना महोत्सव, अन्तराष्ट्रिय स्टल, बिभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल रहने बताउनुभयो । मेलामा बिक्री गरिने सामानहरुमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने ब्यवस्था गरिएको जानकारी दिदै उहाँले मेलामा आउनेहरुका लागि निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने जानकारी दिनुभयो ।

करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन तथा सेवा प्राप्त गर्ने र करिब १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा गरिएको मेलाका संयोजक थापाले जानकारी दिनुभयो । मेलामा हरेक दिन बिभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता, तथा बि–बोईङ प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना हुनेछ ।

मेलामा बाल उद्यान, रोटी पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडिया घर, बालबालिकाको खेल सामाग्रीका साथै चार दर्जनभन्दा बढि राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य सहितका मनोरञ्जनात्मक प्रस्तुती रहने उहााको भनाई थियो ।