धुलिखेलमा सकियो नवदुर्गा नाच जात्रा

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।
सोमबारबाट धुलिखेलमा शुरु भएको नवदुर्गा नाच जात्रा मंगलबार साँझ सकिएको छ । धुलिखेलको घोलेजु परिवारले स्वागत गरि भित्रिएको नवदुर्गालाई विभिन्न क्षेत्रका ब्यत्तिहरुले पुजा सहित विदाई गरेका थिए ।

धुलिखेलले नवदुर्गा र हरिसिद्धी जात्रालाई विशेष रुपमा मनाउने लिएको छ । धुलिखेलको जरन डाँडामा नालाबाट आएका नवदुर्गालाई स्वागत गरिएको थियो । सोमबार राति घोलेजु परिवारले द्योछे घरमा राखेर मंगलबार दिनभर नाच देखाएर साँझ चौकोट हुँदै श्रीखण्डपुर पुगेको थियो । रातो भैरव र सेतो भैरवको नाच देखाउँदा माछा मार्ने खेल मार्फत मनोरञ्जन गर्ने चलन छ ।

धुलिखेलमा विशेष गरी नवदुर्गाको नाचलाई महत्वका साथ हेरिन्छ । स्थानीय सरकारले समेत स्थानीय पर्व जात्राहरुलाई महत्व दिदै मंगलबार स्थानीय पर्व विदा दिएको छ । स्थानीय कला, संस्कृतिहरुको संरक्षणका लागि सरकारले प्राथमिकतामा राखेको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिए ।

नवदुर्गाको जात्रा मल्लकालदेखि सञ्चालन हुँदै आएको हो । ने सं ६३३ मा भक्तपुरका राजा भुवन मल्लले सन्चालनमा ल्याएको र राजा आनन्द देव मल्लले नवदुर्गा देवस्थल निर्माण गराएको हो । बर्षभरिको सबैभन्दा बढ़ी जात्रा सन्चालन हुने ऐतिहासिक जात्रामा श्री नवदुर्गालाई जीवीत देवताको रूपमा पुजिने गरिन्छ ।

यो जात्रा भक्तपुरमा मात्र सीमित नभई पशुपति, टोखा, गोकर्ण, साँखु, चाँगु, ठिमी, साँगा, नाला, धुलिखेल, बनेपा, श्रीखण्डपूर, पनौती गरी विभिन्न स्थानमा जात्रा सञ्चालन गरिन्छ।यस नवदुर्गा देवगण अन्तर्गत देवी ८ जना ब्रह्मायणी, इन्द्रायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, महाकाली, त्रिपुरासुन्दरी, देवता ६ जना श्रीगणेश, महादेव, श्वेतभैरव, बालकुमारी, सिम्ब, दुम्ब १ जना पुजारी नकीं रहेको पाइन्छ ।

हाम्रो समाजमा हुने शुभकार्यमा नवदुर्गा देवगणलाई द्यो ब्वोकेगु कार्य गर्दा सन्तान निरोगी हुने, गरेको काम सफल र कुल स्थिर हुने जनविश्वास रहेको छ । कुनै दिन आफ्नो ग्रह दशा बिग्रेको बेला नवदुर्गाको प्रसाद ग्रहण गर्नेमध्ये दही–चिउरा पञ्चरङ्गी धागो (पस्का), मूल पात्रको जल कालो टीका (मोहनी) ग्रहण गर्दा विघ्न बाधा हट्नुको साथै निरोगी हुने विश्वास रहेको पाइन्छ ।