दर्ता तथा नवीकरण हुन अटेरी गरेका प्याराग्लाइडिङ कम्पनी बन्द


पोखरा ।
दर्ता तथा नवीकरण हुन अटेरी गरेका प्याराग्लाइडिङ कम्पनीलाई पोखरा महानगरपालिकाले सोमबारदेखि उडानमा रोक लगाएको छ । सोमबारसम्म महानगरमा दर्ता नभएका गोल्डेन हेभन प्याराग्लाइडिङ र एड्भान्स प्याराग्लाइडिङलाई रोक लगाइएको हो ।
उनीहरुलाई महानगरले पटकपटक म्याद दिएर दर्ता हुन समय दिँदा पनि उपस्थित नभएपछि उडान बन्द गर्नु परेको महानगर राजश्व शाखाले जानकारी दिएको छ ।
पोखरा महानगरमा सोमबारसम्म ३५ वटा प्याराग्लाइडिङ व्यवसाय दर्ता र नवीकरण भएको उपाध्यायले जानकारी दिए । महानगरले व्यवसाय स्वीकृति लिन फागुन २२ गतेसम्मका लागि म्याद तोकेको थियो ।

थोरै कम्पनीलेमात्रै व्यवसाय दर्ता गरेको भन्दै महानगले पुन २६ गतेसम्म फेरि समय दिएको थियो । उक्त समयावधिमा जम्मा १० वटा कम्पनीले मात्रै दर्ता र नवीकरण गरेका थिए । त्यसपश्चात महानगरमै उपस्थित भएर व्यवसायीले पुन समय थप्न माग गरेपछि फागुन २६ गतेसम्मको समय सम्मका लागि समय दिएको थियो । उक्त समयमावधिमा अधिकांश प्याराग्लाइडिङ कम्पनीले अटेरी गरेपछि महानगरपालिकाले यस्तो निर्णय गरेको हो ।