३९ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा


हिक्मत नेपाली, दैलेख ।

नयाँ मुलुकी संहिता जारी भएसंगै जिल्ला अदालतमा मुद्दा दर्ताको चाप बढेको छ । गत आर्थीक बर्षको जिम्मेवारी सरेका ५२ मुद्दा र चालु आर्थीक बर्षको आठ महिनामा गरी २ सय ८५ मुद्दा दर्ता भएको दैलेख अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार अदालतको बार्षिक कार्ययोजनाले गत आर्थीक बर्षबाट जिम्मेवारी सरेका ५२ र यस बर्ष १ सय ७३ गरी २ सय २५ मुद्धा दर्ता हुने लक्ष थियो । तर चालु आर्थीक बर्षको ८ महिनामा मात्रै २ सय २९ मुद्दा दर्ता भईसकेको सूचना अधिकारी आचार्यले बताउनुभयो । दैलेख अदालतले यस बर्ष १ सय ६७ मुद्दा फर्छौयोट गर्ने लक्ष लिएको थियो । अदालतमा परेका ४ निवेदन र २ सय ८५ मुद्दा मध्ये हालसम्म १ सय २२ मुद्धा र ४ वटा निवेदन फर्छौयोट भएको सूचना अधिकारी आचार्यले बताउनुभयो । अब १ सय ५९ मुद्दा फर्छौयोट हुन बाँकी छन् । ती मध्ये ४१ वटा मुद्दा सरकारवादी र १ सय १८ वटा दुनियावादी मुद्दा रहेको आचार्यले बताउनुभयो । गत आर्थीक बर्षको तुलनामा यो बर्ष मुद्दा दर्ताको अनुपात ह्वात्तै बढेको उहाँको भनाई छ ।

जिल्ला अदालत दैलेखमा दर्ता भएका मुद्दा मध्ये सबैभन्दा बढि सम्बन्ध विच्छेदका छन् । अदालतमा आएका मध्ये ३९ प्रतिशत मुद्धा सम्बन्ध विच्छेदको रहेको सुचना अधिकारी विनोद आचार्यले बताउनुभयो । मुलुकी देवानी संहिता ऐन कार्यान्वयनमा आएपछि पुरुषसमेत सम्बन्ध विच्छेदका लागि अदालत धाउन थालेका छन् । गएको भदौ १ गतेदेखि ऐन कार्यान्वयनमा आएपछि सम्बन्ध विच्छेद गर्न अदालतमा निवेदन दिने पुरुषको संख्या बढिरहेको हो ।

अदालतमा गत बर्ष जिम्मेवारी सरेर आएका र चालु आर्थीक बर्षको हालसम्म १ सय ११ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जसमध्ये नयाँ संहिता अनुसार पुरुषबाट दर्ता हुन आएका सम्बन्ध विच्छेदका मुद्दा ३९ वटा छन् । महिलाबाट आएको मुद्धा ७२ वटा छन् । ती मध्ये महिलाका ४३ र पूरुषका ११ वटा मुद्दा फर्छौयोट भइसकेको छ ।

‘पुरानो मुलकी ऐनलाई विस्थापित गर्दै आएको नयाँ कानुनले पुरुषलाई महिला सरह सम्बन्ध विच्छेदको अधिकार दिएको छ,’ जिल्ला न्यायाधीश सनतचन्द्र लवटले भन्नुभयो ‘यसअघि महिलाले चाहेमा मात्रै सम्बन्ध विच्छेद गर्न पाउने कानुनी प्रावधान थियो, ‘संहिताले महिला, पुरुषलाई बराबरी अधिकार दिएपछि सम्बन्ध विच्छेद गर्न पुरुषको समेत धमाधम निवेदन आइरहेको छ ।’

कानुनी अधिकार तथा सचेतनाले आफु माथी भईरहेको अन्याय सहन नसकेर होस् या स्वन्तत्रा चाहेर सम्बन्ध विच्छेद गर्ने गरेको उहाँको अनुभव छ । केहि घटनाहरु ‘मेरो जीवन मेरो अधिकार’ भन्दै स्वतन्त्र भएर बाँच्न चाहने तथा श्रीमानले खान लाउन नदिने, हेरचाह नगर्ने, पारिवारिक बहिष्कारका कारण पनि सम्बन्ध विच्छेद बढ्दै गएको जिल्ला न्यायाधीश लवटको बुझाई छ ।

जिल्लामा लागु औषध सेवन, बेचबिखन तथा ओसार–पसारका घटनामा बद्धि भएपनि दैलेख जिल्ला अदालतसम्म मुद्दा गएको छैन् । दैलेख जिल्ला अदालतको तग्यांकमा लागु औषध सम्बन्धि १ वटा मुद्दामात्रै अदालत गएको छ । जिल्ला न्यायाधीश सनतचन्द्र लवटका अनुसार ६६ वटा मुद्दा साविकको कानुन र ५६ वटा मुद्दा नयाँ कानुन अनुसार फर्छौयोट गरिएको हो ।

दैलेख जिल्ला अदालतले चालु आर्थीक बर्षको फागुन मसान्तसम्म ६८ वटा मुद्दा मेलमिलाप केन्द्रमा पठाएको छ । यस्तै मेलमिलाप केन्द्रबाट २५ वटा मुद्दा सफल भएका छन् भने २६ मुद्दा असफल भएका छन् । जिल्ला न्यायाधीश लवटका अनुसार अहिलेपनि १७ वटा मुद्दा मेलमिलाप केन्द्रमा चलिरहेका छन् ।