सिरहामा गठबन्धनको परिषद् बैठक शुरु, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई प्रवेश निषेध

0
Shares

राजविराज, (नेस) । सरकारसँग भएको सहमतिको समीक्षा र अगामी रणनीति बनाउन सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक शुक्रबारदेखि सिरहाको लहानमा शुरु भएको छ ।

फागुन २४ गते सरकारसँग भएको ११ बुँदे सहमतिको विषयलाई मुख्य एजेन्डा बनाएर लहानस्थित मारवाडी सेवा सदनको हलमा दिउँसो २ बजेबाट बैठक शुरु भएको हो ।

गठबन्धनका संयोजक राउत र सरकारबीच भएकोे ११ बुँदे सहमतिलाई मुख्य एजेन्डा बनाएर गठबन्धनको परिषद् बैठक बोलाइएको गठबन्धनका एक नेताले जानकारी दिनुभयो ।

बैठकमा गठबन्धनका संयोजक राउतसहितका केन्दीय पदाधिकारी तथा तराई मधेसअन्तर्गत २२ वटा जिल्लाका प्रतिनिधि गरी करिब ९० जना नेता कार्यकर्ताहरुको सहभागिता रहेको जनाइएको छ ।

सुरक्षाकर्मी र सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको सो बैठकमा सरकारसँग भएको सहमति र गठबन्धनले लिने अगामी रणनीतिबारे छलफल हुने र ठोस निर्णय लिइने सहभागीहरुले बताएका छन् ।

दुई दिनसम्म चल्ने बैठकमा सहभागी नेतालाई सदनमै खाने बस्ने व्यवस्था गरिएको छ । बैठकपश्चात बैठकको निर्णयहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने ती नेताले बताउनुभयो ।

यसअघि जनकपुरमा चैत्र ४ र ५ गते गठबन्धनको परिषद् बैठक बस्ने भनिए पनि नेताहरुको आन्तरिक बैठकले बैठक गोप्य रुपमा लहान सारिएको स्रोतले जनाएको छ ।