बन्ने भो राष्ट्रकविको प्रतिमा, होला त प्रमको इच्छा पूरा ?

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कार्यकालमा शताब्दी पुरुष राष्ट्रकवि माधव घिमिरेको पूर्णकदको प्रतिमा अनावरण गर्ने चाहना व्यक्त गरेलगत्तै प्रतिमा निर्माण प्रक्रिया शुरु भएको छ ।

मूर्तिकार विष्णुप्रसाद बरालद्वारा निर्माण गरिने सो प्रतिमा घिमिरेको जन्मस्थल लमजुङमा राखिने योजना रहेको छ । १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुनमा जन्मनुभएको उहाँ गत असोज ७ गते सय वर्ष पुग्नुभएको छ ।

उहाँको परिवारको चाहना उहाँकै जन्मस्थलमा प्रतिमा स्थापना गर्नुरहेको छ । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले उहाँको प्रतिमा निर्माण गर्ने भएको छ । तर घिमिरेको प्रतिमा निर्माण गर्दा आवश्यक पर्ने सहयोग सरकारले बेहोर्ने भएको छ । ‘जति परोस् सरकारले नै बेहोर्नेछ’ –मसँग भएको भेटमा प्रधानमन्त्री ओलीले खर्चको समस्या नपर्ने जनाउनुभएको मूर्तिकार बरालले बताउनुभयो ।

‘जन्मोत्सवको अवसरमा राष्ट्रकवि घिमिरेको रथारोहण समारोहमा प्रम ओलीले राष्ट्रकविको पूर्णकदको प्रतिमा निर्माण गर्न आग्रह गर्नुभएको थियो’, प्रम ओलीकोे भेटको प्रसंग सुनाउँदै मूर्तिकार बरालले भन्नुभयो– ‘प्रधानमन्त्रीले नै तीव्र इच्छा व्यक्त गरेपछि प्रतिमा निर्माण थालेको हँु ।’

उहाले प्रतिष्ठानका अध्यक्ष मुकुन्द पथिकले प्रतिमा निर्माण गर्न सम्झौता गर्ने बताउनुभएको थियो । ‘सम्झौता भएलगत्तै सम्पूर्ण प्रक्रिया पूरा गरी काम शुरु गर्नेछु’ –बरालको भनाइ थियो । पूर्णकदको मूर्ति तयार गर्न करिब ८ लाख रुपियाँ लाग्नेछ । राष्ट्रकविको उचाइ करिब ५ फिट ७ इन्च भए पनि प्रतिमा तयार गर्दा करिब ६ फिट अग्लो हुनेछ । प्रतिमा निर्माण गर्न बरालले घिमिरेको पूर्णकदको फोटो खिचिसक्नुभएको छ । ‘मान्छे हेर्दै पोजपोजको फोटो खिच्नुपर्छ, चार महिनाअघि उहाँको फोटो खिचिसकेको छु’ –बरालको भनाइ थियो । प्रम ओलीले उहाँ जीवित रहेकै अवस्थामा प्रतिमा निर्माण गर्न आग्रह गरेपछि प्रतिष्ठान र मूर्तिकार प्रतिमा निर्माण गर्न तातेको हो ।

ललितपुरमा निर्माण भएको प्रतिमा गाउँमा लगेर स्थापना गरिनेछ । गाउँमा सवारीसाधन नजाने भएपछि हेलिकोप्टरमा लगेर स्थापना गर्ने तयारी मूर्तिकारको छ । बरालले भन्नुभयो– ‘पहिला प्रतिमा तयार गरांै त्यसपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषय सोचौंला ।’ लगातार काम गरे ६ महिनामा प्रतिमा तयार भइसक्ने बरालले जानकारी दिनुभयो । बरालले हाल मैनाली समाजको आग्रहमा साहित्यकार गुरुप्रसाद मैनालीको मूर्ति निर्माण गरिरहनुभएको छ ।

अनुहार फरक भए पनि मैनाली र घिमिरेको जीउडाल र लवाइ ठ्याक्कै मिल्छ । बरालले राष्ट्रिय पोसाक दौरा सुरुवाल र ढाका टोपी लगाएको तस्वीलाई आधार मानेर घिमिरेको प्रतिमा निर्माण गर्ने तयारी गर्नुभएको छ ।

राष्ट्रकवि घिमिरेलाई नेपाली सेनाले मानार्थ महारथी, त्रिभुवन विश्वविद्यालयले २०७२ सालमा मानार्थ महाविद्यावारिधि, २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार, २०७५ मा महाउज्ज्वल पदकबाट सम्मानित गरिएको छ । सय वर्ष पूरा गरिसक्नुभएका घिमिरेलाई उच्च सम्मान गर्दै जीवित अवस्थामै प्रतिमा निर्माण गर्न लागेको हो । तर प्रतिष्ठानले काम शुरु गर्न मूर्तिकार बराललाई आग्रह गरे पनि सम्झौता नगरेको कारण समस्या देखिएको छ ।