सूचना टाँसेर संसद स्थगित


काठमाडौं ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अवरोध गरेपछि प्रतिनिधिसभाको आइतबारको बैठक सूचना टाँसेर स्थगित भएको छ । बैठक सोमबार २ बजे बोलाइएको छ ।
बैठक सुरु हुनेबित्तिकै राजपा सांसदहरु उठेर बैठक अवरोध गरेका थिए । अवरोधपछि सभामुख कृष्णबहादुर महराले राजपा सांसद लक्ष्मणलाल कर्णलाई बोल्न समय दिनुभएको थियो । सांसद कर्णले आफूहरुको पुरानो माग सम्बोधन नभए बैठक चल्न नदिने चेतावनी दिनुभयो । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरको भन्दै उनीहरुले बैठक अवरोध गर्दै आएका छन् ।

मधेश आन्दोलन, थरुहट आन्दोलनका साथै अन्य घटनाबारे अध्ययन, अनुसन्धान गरी न्यायिक सत्यतथ्य प्रतिवेदन सार्वजनिक गर्न भन्दै राजपाले संसदमा माग राख्दै आएको छ । पछिल्लो समयमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा २०७३ साल असोज २ गते आयोग गठन गरेको थियो । आयोगले २०७४ साल माघ २९ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । आयोगले ३ हजार २ सय ६४ घटनाको छानबिन गरेको थियो ।

सभामुख महराले यसअघि पनि सरकारको तर्फबाट गृहमन्त्रीले जवाफ दिइसकेको भन्दै सरकारलाई विशेष ध्यानाकर्षण गराउँछु भनेपछि बुधबारको संसद बैठक चलेको थियो । त्यसअघिको आइतबारको बैठकमा पनि राजपा सांसदहरुले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए । संसदमै गृहमन्त्री रामबहादुर थापाले सरकारले आवश्यक परे प्रतिवेदन सार्वजनिक जवाफ दिएपनि राजपा मानेको थिएन ।
सांसद राजकिशोर यादबले यसअघिको बैठकमा सरकारले प्रतिवेदन सार्वजनिक गरे सरकारको वास्तविक चरित्र प्रदर्शन हुने भएकाले सरकारले प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरेको आरोप लगाउनुभएको थियो । उहाँले सरकारले प्रतिवेदन खोज्दै गरेको र अध्ययन गर्दै गरेको भनेर टारेकोमा आपत्ति जनाउनुभएको थियो । प्रतिवेदनले आफूहरुमाथि लगाएको आरोप कम हुने राजपाले भन्दै आएको छ ।