मन्त्री अर्यालको एक्सनः मालपोत कार्यालयमा छड्के, डिजिटल प्रविधि लागु गर्ने घोषणा


नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले एक वर्ष भित्र सबै मालपोत तथा नापी कार्यालयहरु डिजिटल बनाउने घोषणा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले सुशासन कायम गर्न तथा सेवा ग्राहीको कामलाई तिब्र रुपमा सम्पन्न गर्न देशभरका सबै मालपोत तथा नापी कार्यालयहरु एक वर्ष भित्र विद्युतीय प्रणालीबाट संचालन गर्ने जानकारी दिएकी हुन्।

आईतबार कलंकीस्थित मालपोत कार्यालयमा सुरु गरिएको सुधारका प्रयासहरुको निरीक्षण गरेपछि उनले कार्यालयमा छिट्टै सबै काम विद्युतीय प्रणालीबाट गर्ने व्यवस्था गर्ने, त्यसपछि असार मसान्त भित्र उपत्यका सबै मालपोत तथा नापी कार्यालयहरु र एक वर्ष भित्र देशभरका सबै मातपोत कार्यालयहरुको सेवा विद्युतीय प्रणालीबाट सञ्चालन गर्ने योजना रहेको बताइन् ।

मन्त्री अर्यालले सबै मालपोत कार्यालयबाटै बैंकिङ सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै सुशासन र सेवा ग्राहीको कामलाई सहज बनाउन आफूले सेवा विस्तारका लागि कलंकीस्थित मालपोत कार्यालयलाई नमूना कार्यालयको रुपमा विकास गर्न लागेको बताइन् ।

कलंकीस्थित मालपोत कार्यालयमा हुने कामलाई सहज बनाउन सहायक कक्ष स्थापना गर्ने, सेवा ग्राहीको कामलाई सहज ढंगले अघि बढाउन आवश्यक सबै प्रविधिहरुको विकास गर्ने लगायतको कामलाई सुरु गरिएको छ।