प्रधानमन्त्री ओलीले भनेः विप्लव समूह कुनै कार्यालयमा दर्ता छैन त्यसैले सरकारले चिन्दैन


विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीलाई सरकारले नचिन्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताएका हुन । उनले भने, ‘जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो, सरकारले चिन्दैन ।’
प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधिमात्रै प्रतिबन्ध लगाइएको जानकारी दिए । विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन प्रधानमन्त्रीले नेताहरुलाई आग्रह गर्दै उनले भने, ‘नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो’ प्रधानमन्त्री ओलीले भने, ‘बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने । बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ? गम्भीर राजनीति गर्नुपर्छ ।’

कसैले रुवाबासी गरे पनि सरकारले विप्लव समूहलाई निषेध मात्र होइन नियन्त्रण नै गर्ने उनले बताए ।उनले शान्ति सुरक्षा प्रदान गर्न सरकार दृढ रहेको बताउँदै कुनै पनि बाहनामा शान्ति सुरक्षा खलबबलाउन खोज्ने तत्वलाई सरकारले नछाडने पनि बताएका छन् ।