सुरुङ्गा आगलागीमा १० घर जले

0
Shares

शिवहरिप्रसाद भट्टराई, राजविराज
सप्तरीको सुरुङ्गा नगरपालिका–९ मा शनिबार दिउँसो भएको आगलागीमा दश घर जलेर खरानी भएको छ । वडा नं. ९ प्रमाणपुरस्थित बद्री मण्डलको घरबाट दिउँसो १ बजे सल्केको आगो समयमा नियन्त्रण गर्न नसक्दा ८ परिवारको १० घर नष्ट भएको छ भने लाखौं धनमाल जलेको छ ।

आगोले बद्री मण्डलका साथै छिमेकी विद्या मण्डल, भदै मण्डल, मनोज मण्डल, भोला मण्डल, शिवा मण्डल, दशरथ मण्डल र अधिकलाल मण्डललगायत आठ परिवारलाई बेघर बनाएको हो । आगलागीमा परेका सबै घर फुस, काठ र टिनका छाना भएका घर हुन् । बिहानैदेखि हावा चलेकाले आगो सल्किनासाथ धेरै घर छोटो समयमै जलेको पीडितहरुले बताएका छन् ।

एक घण्टाको प्रयासपछि मात्र आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा लिन शम्भुनाथ र लहान नगरपालिकाको बारुणयन्त्रका साथै स्थानीयबासी, प्रहरी र सेना सक्रिय थिए । आगलागीको कारण खुल्न नसके पनि करिब ३६ लाख रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

गर्मी मौसमको सुरुआतसँगै चल्ने हावाहुरीले सप्तरीमा एक सातायता करिब आधा दर्जन आगलागीका घटनामा ७५ लाख रुपियाँ बराबरको क्षति भइसकेको राजविराज नगरपालिका बारुणयन्त्र विभागको तथ्यांकले देखाएको छ ।