परिहनमै दाल भात तरकारी

0
Shares

सेफको पहिरन। टाउकोमा पहिरिएको पहेंलो रंगको टोपी दाल (रहरको), सेतो रंगको सर्ट भात र हरियो रंगको तल्लो पहिरन तरकारी। दाल, भात र तरकारीलाई यसरी अथ्र्याउँदै रिलिजका लागि तयार फिल्म दाल भात तरकारीको शीर्ष गीत दाल भात तरकारी शुक्रबार रिलिज भएको छ। मह सञ्चारद्वारा निर्मित फिल्मको शीर्ष गीत राजधानीको दरबारमार्गस्थित क्युज सिनेमामा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो।

रमाइलो ढंगको गीतमा शम्भुजित बासकोटाको संगीत, राजेश पायल राई र स्मिता दाहालको स्वर तथा फिल्मका निर्माता तथा अभिनेतामध्येका एक हरिवशं आचार्यको शब्दरचना रहेको छ। गीतमा हरिवंश आचार्य र निरुता सिंह सेफको भेषमा देखिएका छन् भने पुष्प खड्का र आँचल शर्मा रोमान्टिक जोडीका रूपमा देखिएका छन्। विभिन्न सिजनेवल तरकारीलाई समेत कोरियोग्राफको एक अंग बनाउँदै आकर्षक तुल्याइएको गीतमा कोरियोग्राफी प्रवीन सिंहले गरेका छन्। आगामी वैशाख २० गते देशभर प्रदर्शनमा आउन लागेको फिल्म यसका प्रस्तुतकर्ता तथा अभिनेता किरण केसीका पुत्र सुदन केसीको डेब्यु निर्देशनमा बनेको हो।

कार्यक्रममा बोल्दै संगीतकार शम्भुजित बासकोटाले दाल भात तरकारीमा मात्र नभएर मह सञ्चारबाट निर्मित तँ त साहै्र बिग्रिस नि बद्री, जे भो राम्रै भोजस्ता फिल्ममा पनि आफूले संगीत गरेको कारण यो आफ्नो लागि ≈याट्रिक भएको बताए। ‘अहिले फिल्मका गीतमा संगीत गर्नु मेरा लागि चुनौतीको कुरा हो। किनकि अहिले धेरै राम्रा संगीतकार भाइहरू आइसक्नुभएको छ। तर यसमा हामी राति १२ बजेसम्म बसेर मेहनत गरेका छौं। यो गीत धेरैपटक एरेन्ज भएको छ। गीतमा गायक गायिकाको स्वरमा पनि फरकपन महसुुस हुन्छ। नेपाली फिल्मी गीत संगीतको क्षेत्रमा यो गीतले राम्रो स्थान पाउँछ भन्ने लाग्छ’ –उनले भने।

हास्य अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्मको पहिलो गीत भिजिट भिसाले जस्तै शीर्ष गीतलाई पनि दर्शकले मन पराउने बताए। ‘पहिलो गीतले करोड भ्युज नाघ्यो। गीतको शब्द, संगीत र स्वर राम्रो रहेकाले दर्शकले मन पराउने छन्’ –मदनकृष्णले संगीतकार बासकोटाको जन्मदिनका अवसरमा २ केजीको लड्डु काटेर खुवाउँदै भने। हास्य अभिनेता तथा निर्माता हरिवशं आचार्यले दाल भात तरकारीमा समावेश तीन वटै गीत आफू विदेशमा हुँदा सिर्जना गरेको स्मरण गर्दै भने– ‘मेरी श्रीमती र हाम्रो नातीलाई भेट्न अमेरिका गएका थियौं। त्यही बेला मैले फिल्मका गीतहरू लेखेको हुँ। यो गीतचाहिँ रमिला र म मर्र्निङ वाक गइरहेको बेला एक घन्टामा तयार पारेको हो’, हरिवंशले थपे– ‘फिल्म भनेको एउटा परीक्षा जस्तो हो। जसमा पास त भइन्छ तर कुन डिभिजनमा पास भइन्छ भन्ने कुराले ढुकढुक भइरहन्छ। फिल्म प्रदर्शन भएपछि दर्शकले मन पराएर पछि मात्र यसको नतिजा थाहा हुन्छ।’

गायक राजेशपायल राईले आफूलाई शम्भुजित बासकोटाको संगीतमा गाउने रहर भए पनि विभिन्न कारणले नमिलेको र करिब १२ वर्षपछि सँगै काम गर्ने मौका मिलेको बताए। ‘कुनै पनि काम गर्न भाग्यमा लेखेकै हुनुपर्छ जस्तो लाग्छ। मैले शम्भुजित दाइसँग गरिब, साथी, करोडपतिजस्ता फिल्ममा सँगै काम गरेको थिएँ। फेरि पनि दाल भात तरकारीमा काम गर्ने मौका मिलेको छ’, राजेशपायलले भने– ‘मैले गायका अधिकाशं गीत दर्शकले मन पराउनुभएको छ, यो गीत पनि मन पराउनुहुन्छ भन्ने आशा छ।’ गायिका स्मिता दाहालले आफूलाई विश्वास गरेर फिल्ममा गीत गाउने मौका दिएकामा फिल्म युनिटलाई धन्यवाद दिँदै फिल्मको पहिलो गीतसँगै यो गीत पनि हिट हुनेमा आफू विश्वस्त रहेको बताइन्।

फिल्मका प्रस्तुतकर्ता किरण केसीले फिल्ममा हाँसो मात्र भएको र दर्शकको पैसाको शत प्रतिशत सदुपयोग गर्ने दाबी गरे। ‘फिल्मको टेक्निकल काम धेरै बाँकी भएकाले हामीले वैशाख १३ बाट वैशाख २० लाई प्रदर्शन मिति सारेका छौं’, किरणले भने– ‘दर्शकलाई फिल्म मन पर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं।’ नायक पुष्प खड्काले गीत सार्वजनिक भएपश्चात् अब दर्शकको प्रतिक्रिया कुरिरहेको बताए भने नायिका आँचल शर्माले फिल्म तथा गीतमा आफूहरूले निकै मेहनत गरेको र दर्शकको साथ र मायाको खाँचो रहेको बताइन्। अर्की नायिका वर्षा राउतले फिल्मको गीत आफूलाई निकै मन परेको र दर्शकले झन माया गरिदिनुपर्ने बताइन्।

कमेडी जनराको फिल्ममा निरुता सिंह र हरिवंश आर्चाय जोडीका रूपमा प्रस्तुत भएका छन्। वर्षा राउत, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देललगायत कलाकारको समेत अभिनय रहेको फिल्म मह सञ्चारको ब्यानरमा किरण केसीले प्रस्तुत गरेका हुन्। नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यमन श्रेष्ठ र रमिला आचार्यको निर्माणमा निर्माणाधीन फिल्ममा कथा, पटकथा र संवाद हरिवंश आर्चायको रहेको छ भने दीर्घ गुरुङले छायांकन गरेको फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरिरहेका छन्।