रोशन पराजुली, हेटौंडा । हेटौंडा उपमहानगर क्षेत्रका व्यावसायिक केही खोरका कुखुरामा बर्डफ्लु पुष्टी भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले विहीवार प्रभावित क्षेत्रलाई सिल गरेको छ ।
हेटौंडा बजारबाट नजिक नागस्वतीका कुलप्रसाद चौलागार्इंले पालेको व्यावसायिक लेयर्स कुखुराको नमूना केन्द्रीय पशुपछी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लुु देखिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मकवानपुर प्रमुख चेतनारायण खरेलले बर्डफ्लु पुष्टि गर्नुभएको छ । मकवानपुरका प्रजिअ अस्मान तामाङले उपभोक्ता अधिकारकर्मी, सुरक्षाकर्मी र प्राविधिकसहित बैठक बेलाएर सर्वसाधारणलाई सचेत हुन आग्रह गर्नुभएको छ ।
किसानमा छायो त्रास
केही दिनयता कुखुरा मर्न थालेपछि चलेको बर्डफ्लुको हल्ला निरर्थक भएको मकवानपुर कुखुरा व्यवसायी संघले दाबी गरिरहँदा हेटौंडा–७, कमानेको अनिष पोल्ट्रीका कुलप्रसाद चौलागार्इंले पालेको कुखुरा जाँचपछि बर्डफ्लु पुष्टि भएको हो । उहाँले पाल्नुभएका ६ हजार लेयर्स कुखुरामध्ये फागुन १ गते प्रायः सबै मरेर खोर रित्तिएको थियो ।
कुखुरा व्यवसायी संघ मकवानपुर अध्यक्ष राजु अधिकारीले फागुन ५ र १५ गते आफूहरुलाई प्राप्त रिपोर्टअनुसार बर्डफ्लु नभएको पुष्टि गरिए पनि ७२ घण्टामा प्राप्त हुनुपर्ने रिपोर्टले तेस्रो पटकमा भने बर्डफ्लु ‘पुष्टि’ गर्नु आश्चर्यको विषय भएको बताउनुभयो ।
उहाँका अनुसार पुष्टि भएको प्रभावित क्षेत्रमा करिब एक लाख कुखुरा नष्ट गर्दा करिब ७ करोड र करिब ८० हजार अण्डा क्षति हुने छ । उहाँले भन्नुभयो–हामी मानव स्वास्थ्यप्रति गम्भीर छौं । सरकारी ल्याबले बर्डफ्लु पुष्टि गरेपछि हामी नियमानुसार नष्ट गर्ने प्रतिवद्धता गर्दछौं ।
प्रशासनले प्रभावित क्षेत्रका कुखुरा नष्ट गर्ने प्राविधिक तयारी गरिरहँदा उहाँले अब नष्ट गरिने कुखुरा निरोगी हुने दाबी गर्नुभयो । ‘रोगी कुखुरा त एक महिनाअघि नै मरिसके, अब निरोगी कुखुरा नष्ट गरिने भयो,’ उहाँले भन्नुभयो ।
कुखुरा कति संख्यामा नष्ट गर्ने भन्नेबारे व्यवसायी र प्राविधिक छलफलमा जुटेका छन् । कुखुरा व्यवसायमा मकवानपुरमा करिब पाँच अर्ब लगानी रहेको उहाँले जानकारी दिनुभएको छ ।
उक्त क्षेत्रमा कुखुरामा रोग देखिए पनि चौलागाईंको खोरसहित आसपासका केही कुखुरा खोरका सबै कुखुरा यसअघि नै मरिसकेको हेटौंडा–७, आदर्शटोलका किसान नोखबहादुर लामिछानेले बताउनुभयो । कुनै खोरमा ३ दिनमा र कुनै खोरमा ७ दिनमा खोरै रित्तिने गरी कुखुरा मरेका हुन् ।











प्रतिक्रिया