प्याब्सन अध्यक्षमा पुरी

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
सरकाले निजी विद्यालय प्रतिकूल ऐन ल्याउन लागेपछि सशंकित निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन (प्याब्सन)ले यसपटकको निर्वाचन सहमतिमा टुंगो लगाएको छ । नेकपा र नेपाली कांग्रेस निकट प्याब्सनका उम्मेदवार निर्वाचनमा जाने तयारी गरिरहेको अवस्थामा पूर्वअध्यक्षको पहलबाट सहमतिमा गएको हो ।

पूर्वअध्यक्ष एवं सांसद उमेश श्रेष्ठ, राजेश खड्का, भोजबहादुर शाह, लक्ष्यबहादुर केसी, विजय सम्बाहाम्फे, रविन शर्मासहितको टोलीले पटकपटकको छलफल पछि सहमतिमा उम्मेदवारको नामावली टुङ्ग्याएका हुन् । कमलादीस्थित नाङलो रेष्टुरेन्टमा मंगलबार मध्यरातसम्म बसेर सहमतिमा पदाधिकारी चयन गरेको हो ।

अहिलेको विषम परिस्थितिमा निर्वाचनमा हारेका उम्मेदवारले प्याब्सन फुटाएर नयाँ संगठन खडा गर्न सक्ने खतरा बढेपछि सहमतिमा टुंगो लगाइएको हो । स्रोतका अनुसार आउँदो कार्यकालमा सहअध्यक्ष डीके ढुंगानालाई अध्यक्ष बनाउने सहमति भएपछि उम्मेदवारको टुंगो लागेको हो ।

नेकपाको तर्फबाट पूर्व अध्यक्ष भोजबहादुर शाह र नेपाली कांग्रेसको तर्फबाट पूर्वअध्यक्ष एवं सांसद उमेश श्रेष्ठले सहमति गराउने जिम्मा लिएका थिए । निर्वाचन हुँदा प्याब्सन फुट्न सक्ने र सरकारले समेत निजी विद्यालयलाई पेलेर जान सक्ने भएपछि दुवै पक्ष सहमतिमा जान बाध्य भएका थिए । सहमति गर्दा अध्यक्षका प्रत्यासी टीकाराम पुरी र डीके ढुंगानालाई समेत समावेश गराइएको थियो ।

सहमति अनुसार भएको निर्वाचनमा अध्यक्ष टीकाराम पुरी चयन हुनुभएको छ । सहअध्यक्षमा डीके ढुंगाना, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ, उपाध्यक्षमा टीआर ढकाल, इ्र्रश्वरबहादुर गुरुङ, कृष्ण अधिकारी, टंक भट्टराई, गोपाल आचार्य, भरतबाबु कँडेल, दीपिका थापा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा कुमार घिमिरे, कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने निर्वाचित भएका छन । उपाध्यक्षमध्ये ढकाल, गुरुङ, आचार्य पुरी प्यानलका हुन् । त्यस्तै अधिकारी, कँडेल र भट्टराई ढुंगाना प्यानलका हुन् । महासचिवका उम्मेदवार घिमिरे पुरी प्यानलका हुन् भने कोषाध्यक्ष न्यौपाने ढुंगाना प्यानलका हुन् ।

सचिवमा संगीता सिलवाल, भीमसेन केसी, मधु लोहनी, भुवनलाल श्रेष्ठ, मदन आचार्य, राजेश दास, शिव कार्कीलगायत निर्विरोध निर्वाचित भएका छन् । १ सय ९ सदस्यीय कार्यसमिति बढाएर १ सय १९ पु¥याइएको छ । महाअधिवेशनले विधान संशोधन गरी सहअध्यक्ष राख्ने प्रावधान पारित गरेको छ । पछिल्लो अवस्थामा सरकारले निजी विद्यालयमाथि नकारात्मक दृष्टिकोण बढाउँदै गएपछि सहमतिको विकल्प नदेखेर निर्विरोध निर्वाचन गरिएको प्याब्सनका पूर्वअध्यक्ष उमेश श्रेष्ठले बताउनुभयो ।

पूर्वअध्यक्ष राजेश खड्काले अब प्याब्सनका महाअधिवेशन सहमतिमै अघि बढ्नुपर्ने बताउनुभयो । भोजबाहदुर शाहले सबै पक्षलाई समेटेर निर्विरोध निर्वाचन गर्न सफल भएको धारणा राख्नुभयो । सहअध्यक्ष डीके ढुंगानाले आउँदो कार्यकाल आफूले पाउने सहमति भएपछि निर्वाचनमा सहभागी नभएको बताउनुभयो । उहाँले देशभरका निजी विद्यालयको हितका लागि आफूले सहमति रोजेको जानकारी दिनुभयो ।

विजयी भएलगत्तै आफ्नो धारणा राख्दै नवनिर्वाचित अध्यक्ष पुरीले आफूले सार्वजनिक गरेको प्रतिबद्धताअनुसार प्याब्सनलाई अघि बढाउने बताउनुभयो । उहाँले सरकारसँग छलफल गरी निजी विद्यालयलाई कम्पनीमै सञ्चालन गर्न पहल गर्ने, सरकारी कर्मचारीका छोराछोरीलाई निजी विद्यालयमै पढाउने विषयमा सरकारसँग बहस गर्ने, प्याब्सनको आफ्नै भवन निर्माण गर्ने, छात्रवृत्तिमा देखिएको विभोद अन्त्य गर्नेलगायतका विषयमा ठोस कदम चाल्ने जानकारी दिनुभयो ।

‘सबैको सहयोगमा म अध्यक्ष भएको छु, देशभरका निजी विद्यालयको हितअनुसार अघि बढ्नु नै मेरो प्रतिबद्धता भएको छ’ –उहाँको भनाइ थियो । निवर्तमान अध्यक्ष विजय सम्बाहाम्फेले सहमति भए पनि बनेको नयाँ कार्यसमितिले निजी विद्यालयको हित अनुकूल अघि बढ्नुपर्ने बताउनुभयो ।