विप्लव समूहमाथिको प्रतिबन्धको निर्णय उचितः देउवा

0
Shares

विराटनगर ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय उचित भएको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले सार्वजनिक र निजी सम्पत्ति तोडफोड गरेर जनतामा त्रास सिर्जना गर्ने विप्लव समुहलाई प्रतिबन्ध लगाउनु उचित भएको प्रस्ट पार्नुभयो । उहाँले बम बिस्फोट गराएर आतंक मच्चाउनेमाथि कडा कारबाही गर्नुपर्नेमा समेत जोड दिनुभयो । मुलुकमा आतंक मच्चाएर कोही पनि सफल नहुने भन्दै समस्याको समाधान शान्तिपूर्ण रुपबाट खोजिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले विप्लव नेतृत्वको माओवादीलाई प्रतिबन्ध लगाउने विषयमा सरकारले कांग्रेससँग छलफल भने नगरेको बताउनुभयो । देउवाले सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन भएको सहमति सकारात्मक भए पनि बाहिर आएजस्तै मधेसको विषयमा जनमतसंग्रह भने कांग्रेसलाई स्वीकार्य नहुने उल्लेख गर्नुभयो । उहाँले मुलुकको राष्ट्रिय अखण्डता र लोकतन्त्रको मूल्य मान्यताविपरीत गरिने सहमति कांग्रेसलाई मान्य नहुने प्रस्ट पार्नुभयो ।