झापामा वर्षौँदेखि मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालनमा

0
Shares

भद्रपुर ।
झापाका वर्षौदेखि मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालित छन् । झापामा १२ वटा क्रसर उद्योग दर्ता भएका छन् । तीमध्ये ७ वटा उद्योग अहिले पनि सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख चन्द्रप्रसाद मिश्रले जानकारी दिए ।

संगीता विष्टको जयधराल रोडा उद्योग अर्जुनधारा २, शेरबहादुर थापाको जयकाली भगवती रोडा उद्योग अर्जुनधारा २ , दुर्गाप्रसाद प्रसाईको पाथीभरा एग्रिकेट इण्डष्ट्रिज खुदुनाबारी २ , केदार गिरीको कञ्चनजंघा क्रसर उद्योग अनारमुनी १, भुपेन्द्र बरालको कन्काई क्रसर उद्योग बुधबारे ४, सुवास लामाको राजधानी क्रसर इण्डष्ट्रिज धाइजन ६ र विन्दिया श्रेष्ठको मंगलश्री क्रसर उद्योग अर्जुनधारा २ सञ्चालित छन् ।

त्यसबाहेक विकास निर्माणको नाममा निर्माण कम्पनीले आफूखुसी गिट्टी, बालुवा चाल्ने मेसिन भन्दै क्रसर उद्योग नै सञ्चालन गर्दै आइरहेका छन् । जयधराल रोडा, जयकाली भगवती, पाथीभरा एग्रिकेट, मंगलश्री क्रसर उद्योग बिरिङ नदीसँग टाँसिएर सञ्चालनमा रहेको छ ।

त्यस्तै, कन्काई र राजधानी क्रसर उद्योग मेची राजमार्गसँग जोडिएको छ भने कञ्चनजंघा पूर्वपश्चिम राजमार्गसँग जोडिएको छ । झापामा सञ्चालित क्रसर उद्योगले कानून मिच्दै मापदण्डविपरीत सञ्चालन भइरहेको कार्यालय प्रमुख मिश्रले बताए । आर्थिक वर्ष २०७०र७१ देखि जिल्लाको कुनै पनि क्रसर उद्योगले घरेलुमा नवीकरण नगरेको उनले जनाए ।

२०७१ मा जिल्लामा सञ्चालित सबै क्रसरको उद्योगको स्थलगत अनुगमन गर्दै प्रतिवेदन नै मन्त्रालय पठाइएको उनले बताए । अनुगमनको क्रममा सबै क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भइरहेको प्रतिवेदनमा प्रस्ट उल्लेख गरी मन्त्रालयमा पेस गरेको उनको भनाइ छ । आदेशसहितको पत्र नआउँदा अहिले जिल्लामा नवीकरणबिनै क्रसर उद्योग सञ्चालन भइरहेको उनले बताए ।

क्रसर उद्योग नियमविपरीत सञ्चालनमा रहेको र क्रसरले आसपासका नागरिकलाई नकारात्मक असर र्पुयाएको भन्दै स्थानीयले वडा कार्यालय, नगरपालिका र जिल्ला समन्वय समितिमा समेत उजुरी दिएपनि समाधान नभएको पीडितको भनाइ छ । क्रसर सञ्चालकलाई समस्याका विषयमा बारम्बार जानकारी गराउँदा समेत अटेर गरेको स्थानीयले बताए ।

जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले नदी दोहन र क्रसर उद्योगमा देखिएका बेथिति रोक्न अभियान चलाएको बताए । जिल्लाको क्रसर उद्योगले मापदण्डविपरीत सडक नै मिचेर ढुङ्गा, गिट्टी र बालुवा थुपारेकोले अनुगमन पश्चात् मापदण्डविपरीतका क्रसर उद्योगलाई कानूनी दायरमा ल्याउने उनको भनाइ छ ।

सर्वोच्च अदालतको आदेश तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले २०७० भदौ १७ मा मापदण्ड बनाएको थियो । निर्देशिकामा घना बस्ती र बढी जनसंख्या भएको ठाउँबाट दुई किलोमिटर पर क्रसर चलाउन छुट छ ।

त्यस्तै राजमार्ग र खोलाको किनारभन्दा ५०० मिटर टाढा हुनुपर्छ । शिक्षण तथा, स्वास्थ्य संस्था, मठमन्दिर, वन, निकुञ्ज, सुरक्षा निकायलगायतका क्षेत्रबाट दुई किलोमिटर टाढा हुनुपर्छ । छरछिमेक र गाउँलाई बाधा नर्पुयाइ उद्योग सञ्चालन गर्नुपर्ने प्रावधान छ ।