बाटोको हिउँ नपग्लिँदा गूर्जामा खाद्यान्न ढुवानीमा समस्या

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।
गएको फागुन १४ र १५ गते परेको भारी हिमपात अहिलेसम्म नपग्लिँदा हिमाली क्षेत्र गूर्जामा खाद्यान्न अभाव भएको छ । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–१, मा पर्ने अति विकट तथा दुर्गम गाउँ गूर्जा जोड्ने पैदलमार्गमा हिउँ नपग्लिँदा खाद्यान्न ढुवानीमा समस्या भएको हो ।

धौलागिरी गाउँपालिका–२, लुलाङ, देउराली, लट्बाङ हुँदै गूर्जा पुग्ने पदैलमार्गमा अझै करिब ४ फिटसम्म हिउँ जमेको छ । बाक्लो हिउँ जमेका कारण पैदलयात्री र खाद्यान्न ढुवानी गर्ने खच्चडलाई आवतजावत गर्न समस्या भएको गाउँपालिकाका प्रवक्ता एवं गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले टेलिफोनमा जानकारी दिनुभयो । बाक्लो हिउँ परेका कारण बाटो अवरुद्ध भएपछि गाउँमा आवश्यक पर्ने खाद्यान्न साम्रागीको अभाव सुरु भएको उहाँले बताउनुभयो । सदरमुकाम बेनीदेखि गूर्जा २६ कोष टाढा पर्दछ ।

हिमपातका कारण खाद्यान्न ढुवानीमा समस्या हुँदा गाउँमा चामल, नुन, खानेतेल, चिनीलगायत दैनिक उपभोग्य सामग्रीहरुको हाहाकार हुन थालेको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । भारी वर्षासँगैको हिमपातले गूर्जा जोड्ने प्रमुख मार्ग हिमपातकै कारण बन्द भएको बताउँदै उहाँले लुलाङ र गूर्जाको सिमानामा पर्ने देउरालीमा करिब चार फिटसम्म हिउँ जमेको बताउनुभयो । देउराली गूर्जा गाउँ जोड्ने घना जङ्गल हो । गूर्जामा यसपटक मात्रै आठौं पटकसम्म हिमपात भएको थियो ।

चट्टान जस्तै जमेको हिउँ नपग्लिँदा गूर्जाबाट गाउँपालिकाको केन्द्र मुना भएर सदरमुकाम बेनी आउने स्थानीयले गूर्जादेखि मुदीको अर्चे हुँदै अर्को बाटो भएर मुनातर्फ जाने गरेपनि अत्यन्त जोखिमपूर्ण भएकाले समस्या भएको बताएका छन् । जाडोयामका लागि आवश्यक पर्ने खाद्यान्नको व्यवस्थापन गरेका स्थानीयले हिमपातले मार्ग अवरुद्ध भएपछि अभाव झेल्न बाध्य हुनुपरेको छ । छिमेकी जिल्ला बागलुङ र रुकुमबाट समेत गूर्जा जोड्ने मार्गमा हिमपात भए पनि सोही मार्गबाट खाद्यान्नसहितका अति आवश्यक साम्रगीहरु ल्याउन धौ–धौ हुने गरेको स्थानीयवासी बताउँछन् ।

फागुन महिनाको अन्तिमसम्म पनि अझै गाउँको आसपासमा हिउँ जमेका कारण बालबालिकादेखि वृद्धवृद्धालाई समस्या भएको स्थानीय गोर्खा छन्त्यालले बताउनुभयो । बस्ती आसपासका चरन क्षेत्रमा जाने बाटो समेत सहज नभएको उहाँले गुनासो गर्नुभयो । समुन्द्री सतहदेखि २ हजार ७ सय मिटरको उचाइमा अवस्थित गूर्जाको एउटै बस्तीमा मात्रै झण्डै साढे २ सय घरधुरीहरु रहेका छन् । अध्ययन, व्यापार तथा व्यवसाय र उपचारका लागि स्थानीयले हिउँ जमेका कारण जोखिम झेल्नुपरेको छ । जमेको हिउँलाई हटाउन स्थानीयले श्रमदान गरेपनि बाक्लो भएकाले समस्या भैरहेको वडा अध्यक्ष छन्त्यालको भनाइ छ ।

यता उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारस्थित पर्यटकीयस्थल घारेपानी र पुनहिलमा पनि हिउँ जमेका कारण आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सास्ती भएको छ । यस वर्षको विभिन्न समयमा पटकपटक परेको भारी हिमपात कारण स्थानीयवासीका साथै घोरेपानी र पुनहिल घुम्न जाने पर्यटकलाई समस्या भैरहेको छ । घोरेपानीको पैदलमार्ग, पाखो, वनजङ्गल र वस्तीमा परेको हिउँ अहिलेसम्म पग्लिसकेको छैन ।