पूरातात्विक धरोहर सोनवागढमा बेलायती टोलीद्वारा एरियल फोटोग्राफी

0
Shares

सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका–३, भितरियास्थित ऐतिहासिक सोनवागढ क्षेत्रको संरक्षणका लागि एरियल फोटोग्राफी गरिएको छ । उपकरणलाई आकाशमा उडाएर सोनवागढ क्षेत्रको फोटो खिचिएको हो ।

सोनवागढको वास्तविकता पत्ता लगाउन दुर्हम विश्वविद्यालय बेलायतका डा.मार्क मेनवलले फोटोग्राफी गरेका हुन् । सानो आकारको एक मेसिनमा क्यामरा जडान गरी तस्बीरहरु खिचिएको छ । जमिनको सतह, भू–बनावट र स्थलहरुको वास्तविक अवस्था खिचिएको फोटोबाट सजिलै पत्ता लगाउन सकिने बताइन्छ । पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कँुवरको पनि सहभागिता थियो ।

ऐतिहासिक सोनवागढ मन्दिर जिल्लाको चन्द्रौटा चोकदेखि झण्डै ५ किलोमिटर उत्तरतर्फ घना जंगलमा अवस्थित छ । यहाँ बौद्धकालीन शाक्यवंशी राजाले सुनको खजाना लुकाएर राखिएको किंवदन्ती अनुसार मन्दिरको नाम सनवागढ राखिएको स्थानीय बताउँछन् ।

संरक्षणको अभावमा मन्दिरका अधिकांश पुरातात्विक वस्तुहरू चोरी भैसकेको छ । मन्दिर एक ऐतिहासिक भएपनि उचित संरक्षण नहुँदा चोरी भइरहेको स्थानीय बुद्धिजिवी बताउँछन् । मन्दिरको पश्चिमी क्षेत्र सुकबेल नदीले हरेक वर्ष कटानको जोखिममा पर्दै गएको छ ।

मन्दिर परिसरमा ४ वटा अग्ला ढिस्काहरु छन् । केही वर्ष पहिला मन्दिरको पश्चिम क्षेत्रको ढिस्कोमा मूर्ति फेला परेको थियो । सोही मूर्तिलाई अहिले मन्दिरभित्र राखिएको स्थानीयको भनाई छ । मन्दिर परिसरमा रहेको एक गोलाकार ढुंगा छ । यसलाई उचालेमा आफूले चिताएको पुग्ने जनविश्वास छ ।

मन्दिर पुग्न दुईवटा खोला तर्नुपर्छ । मन्दिर पुग्न सहज नहुँदा उचित प्रचारप्रसार हुन सकेको छैन । घना जंगलभित्र अवस्थित सोनवागढ मन्दिरलाई व्यवस्थापन गर्न सके राम्रो पर्यटकीय स्थल बनाउन सकिने सरोकारवालाको भनाई छ । मन्दिर परिसर सुनसान भएकाले रमणीय क्षेत्र रहेको छ ।

लुम्विनी विकास कोषले गत पुष १० गतेबाट पहिलो पटक उत्खनन् गरेको थियो । उत्खनन्का क्रममा सोनवागढबाट गुप्तकालिन इँट्टाबाट निर्मित भग्नावशेषहरु फेला परेका थिए । त्यहाँ फेला परेका गुप्तकालिन भग्नावशेषहरुको इतिहास एकिन गर्न परीक्षण गरिने बताइएको छ ।

प्रचुर पर्यटकीय सम्भावना बोकेको सोनवागढ मन्दिरमा कोषको पुरातत्व विभागले गत बर्षदेखि नै सोनवागढ मन्दिर क्षेत्रलाई संरक्षण गर्दै आइरहेको छ । उत्खनन्को काम सुरु भइसकेपछि जमिनमुनि केही महत्वपूर्ण इतिहास भेटिए मन्दिरको महिमा र यस क्षेत्रको विकास हुने स्थानीयको अपेक्षा छ । हजारौं वर्ष पुरानो तथा धार्मिक धरोहरको रूपमा रहेको सोनवागढ मन्दिरको महत्व बढ्दै गए पनि यस क्षेत्रलाई अझै प्रचारप्रसारमा ल्याउन र मन्दिरको वास्तविक इतिहास पत्ता लगाउन उत्खनन्ले सहयोग पुग्ने विश्वास छ । उत्खनन्का क्रममा यस क्षेत्रमा १३सय वर्ष पुराना ऐतिहासिक संरचना फेला परेका छन् ।

प्रदेश नं. ५ का प्रदेशसभा सदस्य अर्जुनकुमार के.सी.ले सोनवागढ मन्दिर क्षेत्रमा उत्खनन् तथा संरक्षणका लागि पहल गरेका हुन् । १३सय वर्ष पुराना ऐतिहासिक संरचना यस क्षेत्रमा मात्र पाइएको के.सी.को दावी छ । प्रारम्भिक चरण सोनवागढको इतिहास र धार्मिक महत्वबारे गुप्तकालिन इतिहास भेटिनु खुशीको कुरा भएको के.सी. बताउँछन् । यसअघि भौतिक सर्बे भएको र अहिले एरियल फोटोग्राफी गरिएको उनले बताए । अर्को वर्षपनि यहाँ उत्खनन्को कामलाई निरन्तरता दिइन् सांसद के.सी.ले बताए ।


शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारीले सोनवागढ, शिवगढी जस्ता ऐतिहासिक धरोहर नगरकै पहिचान रहेको बताए । ऐतिहासिक तथा पुरातात्विक धरोहर सोनवागढको संरक्षण र प्रचारप्रसारका लागि सबैको साथ र सहयोग आवश्यक रहेको नगरप्रमुख अधिकारीले जिकिर गरे । पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि नगरपालिकाले विभिन्न योजनाहरु समेत ल्याएको बताए ।

शिराज नगरपालिका वडा न ३ का वडाध्यक्ष टेकलाल सापकोटाले सोनवागढ आवत जावत गर्न कठिन रहेकाले यसवर्ष दुईवटा झुलुंगे पुल निर्माण हुने जानकारी दिए । सोनवागढ मन्दिर परिसरलाई व्यवस्थित बनाई आन्तरिक र वाह्य पर्यटकहरुको आगमनलाई वढाउन प्रयास गरिरहेको वडाध्यक्ष सापकोटाले बताए । सोनवागढ उत्खनन् पश्चात सोनवागढ घुम्न आउनेहरुको संख्यामा वृद्धि भएको सापकोटाले जनाए ।

व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले राज्यले समृद्धिको नारा लिइरहेको बेला पर्यटकीय स्थल तथा ऐतिहासिक स्थल संरक्षणमा ध्यान दिनुपर्ने जिकिर गरे । शिवराज नगरपालिका विकाससँगै नगरभित्रका पर्यटकीय स्थलहरुको प्रचारप्रसार र उचित संरक्षणका लागि तीनैवटा तहको सहयोग आवश्यक रहेको बताए । चन्द्रौटा उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष ईश्वरीप्रसाद पाण्डेले सोनवागढ ऐतिहासिक स्थल भएकाले यसको छुट्टै महत्व रहेको बताए । धार्मिक आस्थाको समेत केन्द्रविन्दु रहेको सोनवागढलाई पर्यटकहरुको गन्तव्य बनाउनुपर्नेमा जोड दिए ।

टोलीसँगै शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, इलाका प्रशासन कार्यालयका शाखा अधिकृत जगदिश अर्याल, शिवराज जेसिसका अध्यक्ष सरोज पौडेल, युवा नेता गणेश के.सी. लगायतले ऐतिहासिक स्थल सोनवागढ क्षेत्रको उचित संरक्षणमा सबैले चासो देखाउनुपर्नेमा जोड दिए ।

\