महाकाली अञ्चल अस्पतालको दुर्दशाः एक्स-रे र फार्मेसी सेवासमेत अलपत्र

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पताल समस्या नै समस्याले थला परेको छ । अञ्चल अस्पतालको अवस्थाबारे सम्बन्धित निकाय बेखबर भएपछि अस्पतालको दुर्दशा दिनप्रति दिन बढ्दै गएको छ ।

विशेषज्ञ डाक्टरको अभाव रहेको अस्पतालको फार्मेसी र एक्सरे सेवा समेत अलपत्र परेका छन् । बजेटको अभाव तथा बिग्रेको मेसिन मर्मतमा सम्बन्धित निकायले ध्यान नदिँदा सेवाग्राहीले अञ्चल अस्पतालबाट पाउने स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ । चुनावका बेला महाकाली अञ्चल अस्पताललाई मुख्य एजेन्डा बनाएका उम्मेदवार चुनाव जितेपछि अहिले अस्पतालको अवस्थाबारे बेखबर बनेको स्थानीयको आरोप छ । महाकाली अञ्चल अस्पताल समस्या नै समस्याले जेलिएर थला परेको छ ।

दुई महिनादेखि एक्सरे सेवा ठप्प
अस्पतालमा रहेको एक मात्र मेसिन बिग्रेपछि दुई महिनादेखि अस्पतालको एक्सरे सेवा ठप्प छ । स्वास्थ्य सेवा विभागबाट आएको ४ सय एमए क्षमताको उच्च क्वालिटीको एक्सरे मेसिन पुस अन्तिम साता बिग्रिएपछि मर्मत गर्न नसक्दा सेवा ठप्प भएको हो ।

मेसिन बिग्रेपछि सेवाका लागि अस्पताल आउने बिरामीहरूलाई अन्यत्र पठाउनु पर्ने बाध्यता रहेको अस्पतालका रेडियोग्राफर दीपेन्द्र झाले बताए । बिरामीहरूले निजी क्लिनिक तथा सीमावर्ती बजार गएर सामान्य एक्सरेका लागि समेत महँगो खर्च बेहोर्नु परेको छ । अञ्चल अस्पतालमा ठूला साना गरी दैनिक ५० जना बढीको एक्सरे हुँदै आएको थियो ।

फार्मेसी सेवा अलपत्र
केन्द्रबाट आवश्यक बजेट निकासा नहुँदा अस्पतालमा सञ्चालन गर्ने भनिएको फार्मेसी सेवा अलपत्र परेको छ । अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले स्वास्थ्य मन्त्रालयबाट फार्मेसी सञ्चालनका लागि बजेट विनियोजन नभएको बताए ।

आर्थिक वर्ष २०७३÷७४ मा फार्मेसी सञ्चालनका लागि बजेट विनियोजन गरिए पनि अस्पताल प्रशासन र समितिले काम गर्न नसक्दा बजेट फ्रिज भएको थियो । फार्मेसी सञ्चालनका लागि बेलाबेलामा पहल गरिए पनि त्यसको सुनवाइ नभएको सूचना अधिकारी अवस्थीले गुनासो गरे । साथै, फार्मेसी सञ्चालनका लागि जनशक्ति नभएको र भएको दरबन्दीसमेत कटौती गरिएको उनको दाबी छ ।

अञ्चल अस्पतालमा फार्मेसी सञ्चालन नहुँदा सेवाग्राही निजी क्लिनिकबाट महँगो मूल्यमा औषधि किन्न बाध्य छन् । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव गोगनबहादुर मल्लले फार्मेसी सञ्चालनका लागि अगामी आर्थिक वर्षबाट बजेट विनियोजन गरिने बताए ।

एम्बुलेन्सविहीन अवस्था
अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएपछि अञ्चल अस्पताल एम्बुलेन्सविहीन बनेको छ । भारतीय दूतावासले सहयोग गरेको एक मात्र एम्बुलेन्स पनि बिग्रिएर बेकामे बनेपछि अस्पताल आउने बिरामी एम्बुलेन्स सेवाबाट वञ्चित हुनुपरेको छ ।

अस्पतालका एम्बुलेन्स दुई वर्ष अगाडि नै बिग्रिएर थन्किएपछि अस्पतालसँग अहिले आफ्नो एउटा पनि एम्बुलेन्स नभएको अस्पतालका सूचना अधिकारी अवस्थीले जानकारी दिए। उनले भने, ‘यसबारे सरकारलाई पटक–पटक जानकारी गरायौं तर हाम्रो कुराको सुनुवाइ भएन ।’

अञ्चल अस्पतालमा एम्बुलेन्सजस्तो अत्यावश्यक साधन नहुँदा बिरामी मर्कामा परेका छन्। यदि बिरामी रेफर गर्न वा अन्य ठाँउ लैजानु परेमा चर्को भाडा तिरेर बाहिरका एम्बुलेन्स लिनुपर्ने बाध्यता छ ।

‘आईसीयू’ उपकरण जीर्ण
‘आईसीयू’ सेवाका लागि दुई वर्षअगाडि जडान भएका उपकरणहरु सञ्चालनमा आउन नसक्दा जीर्ण बन्दै गएका छन्। ‘आईसीयू’ सञ्चालनका लागि आवश्यक पर्ने उपकरणहरू जडान गरिए पनि सेवा सुरु हुन सकेको छैन। बरु उपकरणहरु जीर्ण बन्दै गएका छन् ।

‘आईसीयू’ सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा सेवा सञ्चालनमा आउन नसेको अञ्चल अस्पतालका निमित्त प्रमुख हिक्मत श्रेष्ठले बताए । ‘आईसीयूका लागि आवश्यक सबै उपकरण जडान गरेर तयारी अवस्थामा राखिएको छ तर हामीसँग डाक्टरहरू छैनन्, त्यसैले सञ्चालनमा आएको छैन, अब त ती उपकरण पनि जीर्ण बन्दै गएका छन्’, उनले भने ।

अञ्चल अस्पतालका समस्याबारे सरकारलाई जानकारी गराउँदा पनि आश्वासन मात्र पाउने गरेको उनले गुनासो गरे ।