७ नबज्दै खाना खाएर विद्यालयतर्फः होमवर्क गर्दागर्दै निदाउँछन् विद्यार्थी

0
Shares

हेटौंडा ।
विद्यालयमा दैनिक ९ वटा विषयको पढाइ हुन्छ । सबै किताब, कापी र झोलाको भारी बोकेर जान सक्दैनन् उनीहरु । त्यसैले किताब पालैपालो बोक्छन् । बेञ्चमा सँगै बस्ने साथीसँग कसले कुन विषयको किताब बोक्ने होे भन्ने सल्लाह गरेका हुन्छन् उनीहरुले ।

त्यसकारण उनीहरु ४÷५ वटामात्र किताब बोक्छन् । केही गरी साथीले किताब बोक्न बिस्र्याे अथवा विद्यालय आएनन् भने सँगै बस्ने ३÷४ जनाले एउटै किताब हेरेर पढ्छन् । यसरी पढ्नुपर्दा राम्ररी पढ्न नसकेको उनीहरुको अनुभव छ ।

सामान्यतः विहानको खाना खाने समय १० बजेतिर हो । तर, विद्यालय जानुपर्नेहरु भने ९ बजे खाना खान्छन् । त्यो भन्दा चाँडै खाना खानुपर्ने बाध्यता भयो भने कि हट्केसमा खाना बोक्छन् कि त  क्यान्टिनमा खाना खान्छन् ।

तर, किरण गोले (१३) र प्रशान्त तामाङ (११) को हकमा भने यी सबै कुरा लागु हुँदैनन् । कक्षा–६ मा अध्ययनरत् उनीहरुले विहान ७ नबज्दै खाना खाइसक्नुपर्छ । सामान्यतः यो चिया खाने समय हो । तर, अन्य विद्यार्थी चियाको चुस्की लिँदै ‘होमवर्क’ गरिरहँदा उनीहरु भने भ्याइनभ्याइ गरी खाना खाएर विद्यालय दौडिरहेका हुन्छन् ।

विहान ताजा खाना पकाउन सम्भव हँुदैन । ‘तरकारी पकाउने, भात हिजोकै खाने,’ किरण भन्छन् । कुनै दिन केही गरी बासी भात सकियो र खाना पकाउन भ्याइएन भने कि उनीहरु भोकै हिँड्नुपर्छ कि त विद्यालयमा शिक्षकको ‘कारबाही’ भोग्न तयार हुनुपर्छ । किनकि, गोले र तामाङलाई विद्यालय पुग्न करिब २ घण्टा हिँड्नुपर्छ । त्यसकारण पनि उनीहरुलाई विहान साढे ६ बजेदेखि पौने ७ बजेभित्र खाना खाइसक्नुपर्ने बाध्यता छ ।

यो कुनै दुर्गम हिमाली जिल्लाका विद्यार्थीको व्यथा होइन, सुगम मानिने प्रदेश–३ को मकवानपुरका विद्यार्थीको समस्या हो । नेपालकै पुरानो त्रिभुवन राजपथ (बाइरोड) आसपासका विद्यार्थीको पीडा हो यो ।

मकवानपुरको थाहानगर–१२, गैरीगाउँका विद्यार्थी हुन् गोले र तामाङ । उक्त गाउँ मकवानपुर र धादिङ जिल्लाको सिमानामा पर्छ । भौगोलिक दुरीको हिसाबले धादिङको विद्यालय नजिक भए पनि उनीहरु थाहानगर–११, टिष्टुङस्थित बागेश्वरी माध्यमिक विद्यालयमा पढ्छन् । विद्यालयमा आउजाउ गर्न उनीहरुले दैनिक करिब ४ घण्टा हिँड्नुपर्छ ।

त्यहाँका विद्यार्थी प्राथमिक तहसम्म स्थानीय तारुका प्राथमिक विद्यालयमा पढ्छन् । त्यसपछि माध्यमिक तह अध्ययनका लागि उनीहरु कि धादिङ पुग्नुपर्छ कि त टिष्टुङ । उनीहरुका लागि आफ्नै  नगरभित्रको टिष्टुङस्थित बागेश्वरी माध्यमिक विद्यालय पुग्नु भन्दा छिमेकी धादिङको विद्यालय नजिक पर्छ । तर, पनि उनीहरु टाढाकै विद्यालय पढ्न जान्छन् ।

विद्यालय जान उनीहरुसँग तीन विकल्प छन् । पहिलो विकल्प हो–त्रिभुवन राजपथ भएर चल्ने सार्वजनिक सवारीसाधन । तर, सार्वजनिक सवारी चलाउने थोरै चालकले मात्र उनीहरुको इशारालाई दया गरिदिन्छन् । त्यसकारण उनीहरुलाई सार्वजनिक यातायातका साधनको भर लाग्दैन रे ।

उनीहरुको दोस्रो विकल्प हो–लिफ्ट मागेर आउजाउ गर्ने । सम्भव भएसम्म खाली आएको मोटरसाइकल र स्कुटरमा लिफ्ट माग्दै उनीहरु विद्यालय आउजाउ गर्छन् । ‘बस र माइक्रो रोक्दै रोक्दैन । तर, बाइक रोक्छ,’ प्रशान्तले भने । मोटरसाइकलमा बढीमा २ जनालाई मात्र लिफ्ट दिन मिल्ने भएकोले सबै विद्यार्थीले सधंै लिफ्ट पाउन सक्दैनन् ।

उनीहरुसँग भएको अन्तिम विकल्प हो–पैदल यात्रा । वाध्यात्मक पैदल यात्रा नै उनीहरुको सबभन्दा भरपर्दाे र विश्वसिलो विकल्प हो । त्यसैले त किरण र प्रशान्तजस्तै गौरीगाउँ, तारुका, दोभान खोलालगायत आसपासका करिब ७० विद्यार्थी दैनिक ४ घण्टा हिँडेर विद्यालय आउजाउ गर्छन् । यसरी आउजाउ गर्नेमा कक्षा–६ देखि १० सम्मका विद्यार्थी छन् ।

उनीहरु दैनिकजसो भ्याइनभ्याइ गरी लखतरान भएर विद्यालय जानुपर्छ । विद्यालय पुग्दा भोक लागिसकेको हुन्छ । भोक र थकाइका कारण उनीहरुले चाहेर पनि पढाइतर्फ ध्यान केन्द्रित गर्न सक्दैनन् । विद्यालयले उनीहरुलाई दिउँसो १ बजे खाजा दिन्छ । खाजावापत् उनीहरुले मासिक २ सय रुपियाँ विद्यालयलाई बुझाउनुपर्छ ।

विद्यालयबाट उनीहरु बेलुका ४ बजे छुट्छन् । तर, उनीहरु घर पुग्दा साढे ६ जति बज्छ । विहान विद्यालय जान भन्दा घर फर्किन गाह्रो हुने उनीहरु बताउँछन् । कहिलेकाँही त उनीहरु घर पुग्दा खाना पाकिसकेको हुन्छ ।

हिँडेर थकित उनीहरुको शरीर र मनमस्तिष्कले आराम खोज्छ । तर, होमवर्क नगरी सुत्ने कुरै भएन । ‘विहान उठेर होमवर्क गर्न भ्याइँदैन । त्यसैले राति अबेरसम्म होमवर्क गर्नुपर्छ, कहिलेकाँही त होमवर्क गर्दागर्दै निदाइन्छ,’ किरण भन्छन् ।