सरोजको सांगितीक आकृति सार्वजनिक


सञ्चारकर्मी गायक सरोज कोइरालाको दोस्रो एकल एल्बम आकृति सार्वजनिक गरिएको छ। हालै राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा एल्बम सार्वजनिक गरिएको हो।

संगीतकार शम्भुजित बाँस्कोटा, प्रकाश गुरुङ, सुरेश अधिकारी, महेश खड्का, निर्देशक नरेश पौडेल, देव नेपाल, गायक तुलसी पराजुली, गीतकार चुडामणि देवकोटा, पत्रकार शान्तिप्रिय, चित्रकार, गायक तथा संगीतकार ज्योती प्रकाश र क्रियटर रुमका सञ्चालक निर्मल ढकालले उनको एलबम संयुक्त रूपमा विमोचन गरेका हुन्। सरोजकै शब्द/संगीत र स्वर रहेको एल्बममा चार गीत छन्। संगीत संयोजन सुदिप सागरले गरेका छन्।

लोकप्रिय संगीतकार शम्भुजित बाँसकोटाले सरोजको संगीत र स्वर दुवै राम्रो भएको चर्चा गर्दै उनको स्वर आप्mनो संगीतमा समेत प्रयोग गर्ने बताए। संगीतकार सुरेश अधिकारी र महेश खड्काले संगीतमा सरोजको भविष्य उज्वल रहेको उल्लेख गरे।लेखक तथा निर्देशक देव नेपालले आगामी वैशाखमा निर्माण हुने फिल्ममा सरोजलाई नै संगीतकार लिने घोषणा गरे। संगीतकार तथा संगीत प्रशिक्षक प्रकाश गुरुङले सरोज आप्mनो सवैभन्दा राम्रो विद्यार्थी भएको सुनाए। ‘सञ्चार क्षेत्रमा हराउँछ कि भन्ने डर लागेको थियो। दोस्रो एल्बम सार्वजनिक गरेकोमा खुसी लाग्योु गुरुङले भने।

गायक कोइरालाले संगीत क्षेत्र कहिल्यै नछाड्ने बताए। उनले सञ्चारक्षेत्रमा आउनुभन्दा पहिले संगीत गरेको एउटा गीत समेत आकृति एल्बममा समावेश गरेको जानकारी दिए। कार्यक्रममा आकृति एल्बमको दुई र ७० सालमै सार्वजनिक भएको सरोजको पहिलो एल्बम सगुनको एउटा गीत गरी तीन गीतको म्युजिक भिडियो समेत देखाइएको थियो। आकृतिको मन मेरो केवल बोलको गीतमा रमेश सोडारी, माला थापा र अर्जुन कुँवरले अभिनय गरेका छन्। त्यस्तै सासै फेर्न बोलको गीतमा चन्द्रमणि मुडवरी र शोभा पौडेल छन्। सगुन एल्बमको आत्माको माय गीतमा चाहिँ अर्जुन कुँवर र सुक्रिया श्रेष्ठले अभिनय गरेका छन्। मन मेरो केवल र आत्माको मायाको भिडियोलाई देव नेपालले निर्देशन गरेका छन् भने सासै फेर्न बोलको गीतलाई चन्द्रमणिले नै निर्देशन गरेका हुन्।

२ वटा एल्बम सार्वजनिक गरेका उनले म्हेन्दु, अघोरीजस्ता चलचित्रका गीतमा पनि संगीत र स्वर दिएका छन्।