खानेपानी अभाव भएपछि धारमा पनि भोटे ताला

0
Shares

नेपाल समाचारपत्र, पर्वत
घरको ढोका होस वा बाकसमा ताला लगाउने कुरा त सामान्य हो । बहुमुल्य धनमाल हराउने र चोरी हुने डरमा होस वा जथाभावी प्रयोग नहोस भनेर पनि ताला लगाउने गरिन्छ ।

तर पर्वतको फलेबास नगरपालिका ३ शंकरपोखरीका बासिन्दाका लागि बहुमुल्य सामाग्री जस्तै छ धाराको पानी पनि । धारामा आउने पानी जथाभावी प्रयोग नहोस भनेर यहाँका बासिन्दाले धारामै ताला लगाएर बन्द गर्दै आएका छन । चाहिने भन्दा धेरै थोरै पानी आएपछि पानी जतन गर्न धारामै ताला लगाउँदै आएका हुन ।

फलेबास नगरपालिकाको शंकरपोखरीमा पर्ने पुर्कोट, मैदान, डाँडा, टारी र पात्लालगायतका बासिन्दाले सार्वजनिक धारामा ताला लगाउन थालेका छन । ‘धारो खुलै छोड्दा जति पानी भए पनि एकै दिनमा सकिन थाल्यो,’ स्थानिय रमेश क्षत्रीले भन्नुभयो ‘एउटा संस्थाका प्रतिनिधिले ताला लगाऊने जुक्ति सिकाएर गए । त्यो जुत्तिले धेरै राहत भएको छ ।’

यहाँका तीनवटा विद्यालय र करिब डेढ सय घरका बासिन्दाले धारामा साँचो लगाउँछन ्  ।पानीको समस्या टार्न ६ वर्षअघि स्थानीयले सिमेण्टका घैंटा बनाउने अभियान चलाएका थिए । प्रत्येक घरले दुई हजार लिटर क्षमताका दुई–दुईवटा घैंटा निर्माण गरेपछि पानीको समस्या केही टरेको छ । आकाशे वर्षा हुँदा मात्रै जम्मा हुने पानी अनावश्यक खर्च गर्दा एक–दुई दिनमै सकिन थालेपछि स्थानीयले नै घारामा साँचो लगाउने उपाय निकालेका हुन् ।

संघ–संस्थाका कार्यालय देखि विद्यालय धारामा ताला लगाएर पानी जोगाउनु बाध्यता रहेको त्रिभुवन माबिका बिद्यार्थी बताउँछन । विद्यालयले एउटाट्यांकीमा पानी संकलन गरेर विद्यार्थीलाई पिउने व्यवस्था मिलाएको छ । वर्षामा पानी संकलन गर्न २० हजार लिटरको सिमेन्टेड ट्यांकी बनाइएको छ । ट्यांकीमा जम्मा भएको पानी हिउँदभर विद्यार्थीले पिउने हो । वर्षा हुँदा हिउँदमा समेत आकाशबाट परेको पानी विद्यालयको छाना हुँदै ट्यांकीमा जम्मा पारिन्छ । पानी नबिग्रियोस् भनेर रासायनिक उपचार गरिन्छ ।

सार्वजनिक धारामा सातामा एक दिन आउने पानी पनि यही ट्यांकीमा संकलन गरेर विद्यार्थीलाई पिउने व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ ।‘यहाँका बस्ती र विद्यालयको साझा समस्या हो,’ शिक्षक धनबहादुर थापाले भन्नुभयो ‘धारामा चापी लगाउने र वर्षाका बेला पानी संकलन नगरे पानी पिउनै पाइन्न ।’
हिउँदका दिन सुरु भएसँगै यहाँका बासिन्दाको दैनिकी खाननेपानीको जोहो गर्दैमा बित्छ । करिब डेढ सय परिवारले एक गाग्री पानी लिन करिब एक घण्टा हिँडेर एक घण्टाभन्दा बढी समय लाइन बस्नुपर्ने बाध्यता छ । गाउँमा खानेपानीको उचित र दीर्घकालीन स्रोत नहुँदा पुर्कोट र डाँगागाउँका बासिन्दाको दैनिकी कष्टकर बनेको हो ।

पुर्कोटमा सबै दलित बस्ती छ । डाँडागाउँमा दलित र गैरदलितको संयुक्त बस्ती । शंकरपोखरीभरको खानेपानी समस्या समाधान गर्न गत वर्ष तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले २४ करोड स्टमेट लागतको बृहत् खानेपानी आयोजना सञ्चालन गर्न थालिएको छ । योजनाको गण्डकी प्रदेशका भौतिक पुर्वाधारमन्त्री रामशरण बस्नेतले शिलन्यास गरेका छन ।