नागरिकमैत्री व्यवहार प्रस्तुत गरी काम गर्नुपर्नेः महानिरीक्षक खनाल

0
Shares

रुपन्देही ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले पीडितलाई न्याय दिने, आमनागरिकको मन जित्ने र नागरिकमैत्री व्यवहार प्रस्तुत गरी उच्च मनोबलकासाथ काम गर्नुपर्ने बताउनुभएको छ ।

ईलाका प्रहरी कार्यालय रन्यौरा ९मुर्गिया० रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई शनिबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक खनालले अपराध अनुसन्धान तथा नियन्त्रणको क्रममा आइपर्ने चुनौतिसँग जुध्दै अपराधीसँग कठोर रुपमा प्रस्तुत हुनुपर्ने तर अनुसन्धानको क्रममा कार्यालयमा ल्याइएका व्यक्तिहरुप्रति सदैव असल र सम्मानजनक व्यवहार गर्नुपर्ने बताउनुभयो । भ्रष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई अक्षरस पालना गर्नुको साथै कानुनसम्मत तरिकाले मात्र काम गर्न उहाँले निर्देशन दिनुभयो ।

समुदाय(प्रहरी साझेदारी कार्यक्रम र यसबारे भईरहेको क्रियाकलापबारे चासो राख्दै प्रहरी महानिरीक्षक खनालले कार्यक्रम अन्तर्गत स्थानीय तह र समुदायसँग समन्वय गरी सक्रियताकासाथ काम गर्नुपर्नेमा जोड दिनुभयो । दैनिक कामकाजसँगै कार्यालय, कार्यालय परिसर तथा व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै व्यवसायिक काम गर्ने क्रममा आवश्यक साधनस्रोत र सुविधा उपलब्ध गराउन आफू सदैव तल्लीन रहेको उहाँले बताउनुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले उक्त कार्यालय तथा कार्यालय परिसरको निरीक्षण समेत गर्नुभएको थियो । निरीक्षणको क्रममा ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारी लगायतका प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।