बैंक ग्यारेन्टीको आधारमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन व्यवसायीको माग

0
Shares

यमलाल भुसाल, बुटवल ।
पट्रोलियम पदार्थ बिक्रेताहरुले नेपाल आयल निगमले बैकं ग्यारेन्टीको आधारमा व्यवसायीलाई पेट्रोलियम पदार्थ उपलब्ध गराउनु पर्ने माग गरेका छन । व्यवसायीले साविकमा विक्री गरेको तथ्यांकका आधारमा बैकं ग्यारेन्टीवाट पेट्रोलियम पदार्थ उपलब्ध गराउनु पर्नेमा जोड दिएका छन ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनको १५ औं वार्षिक साधारण सभामा शनिबार रुपन्देहीको मणिग्राममावोल्दै पेट्रोलियम व्यवसायीले यस्तो माग गरेका हुन ।

कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको पुनर्संरचना गर्ने काममा आफू लागिरहेको बताउनु भएको छ ।

कार्यकारी निर्देशक पौडेलले निगममा हुने गरेका विकृति, विसंगतीको अन्त्य गर्दै निगमका हरेक कारोबारलाई पारदर्शी बताउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उहाँले आयल निगममा समस्या रहेको स्वीकार गर्दै यसको उपचार खोजिरहेको बताउनु भयो ।
“निगम पनि अहिले रोगले थलिएको छ, तर निको नहुने क्यान्सर नै लागेको भने होइन”–पौडेलले भन्नु भयो–“निगमलाई लुतो रोग लागेकाले यसको उपचा संभव छ र प्रयास भैरहेकोे छ ।”

उहाँले निगमका गतिविधिलाई प्रभावकारी बनाउने योजना पनि आफूले अगाडि सारेको उल्लेख गर्नु भयो ।
निगमको सुधारको लागि शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ लागू गर्ने कार्यकारी निर्देशक पौडेलको भनाइ छ । मुलुकलाई परी आउने समस्या समाधान गर्न र पेट्रोलियम पदार्थको बढ्दो मागलाई व्यवस्थापन गर्न भण्डारण क्षमता वृद्धि अहिलेको पहिलो प्राथमिकता हुनुपर्ने उहाँले बताउनु भयो ।

भण्डारण क्षमता वृद्धिका लागि नेपाल आयल निगमले दुई वर्षदेखि माग मूल्यांकन गरी ७ वटै प्रदेशमा ९० दिनको भण्डारणका लागि पूर्वाधार विकासको काम सुरु गरेकोमा पूर्वाधार विकासका लागि किनिएको जग्गामा अनियमितता भएको पाइएपछि यो कामले गति लिन नसकेको उहाँको भनाई छ ।

उहाँले अहिले भारतसँग मात्रै ६८ प्रतिशत व्यापार रहेकोमा १३ प्रतिशत पेट्रोलियम पदार्थले ओगटेको उल्लेख गर्दै पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि पेट्रोलियम पदार्थको आयात प्रतिष्थापन गर्नैपर्ने बताउनु भयो । “अव विद्युतीय सवारी साधनको प्रयोगमा जानुपर्छ, यसका लागि हरेक पेट्रोलियम डिलर्सले आ–आफ्नो क्षेत्रमा चार्जिङ स्टेशन राख्नुपर्छ”–उहाँले भयो ।

उहाँले पेट्राेिलयम पदार्थमा गरिएको लकिङ प्रणालीलाई साझा अभियानका रुपमा अघि बढाउन व्यवसायीलाई आग्रह गर्दै डिपोदेखि डिलर्स सम्मको लकिङ प्रणाली पनि व्यवसायीले अपनाउँछन् भने निगम बजेट दिन तयार रहेको बताउनु भयो । कार्यकारी निर्देशक पौडेलले भैरहवामा निर्माणाधिन अन्र्तराष्ट्रिय विमान स्थलमा ठुला जहाजका लागि पेट्रोलियम पदार्थ फिलिङका लागि स्थान नै व्यवस्थापन नगरिएकोले त्यसतर्फ गम्भिर बन्न जरुरी रहेको बताउनु भयोे ।

विमान स्थल बन्दा नै ख्याल गरिएन भने संचालनका क्रममा विकराल समस्या पर्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका केन्द्रीय अध्यक्ष लिलेन्द्र प्रधानले इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गर्नु भयो ।

पेट्रोलियम व्यवसाय सेवामूलक व्यवसाय भएकाले लागत अनुसारको प्रतिफल पाउनुपर्ने भन्दै उहाँले व्यवसायीका समस्या समाधानमा निगमको ध्यानाकर्षण गराउनु भयो ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष प्रेम न्यौपानेले व्यवसाय बचाउनका लागि कम्तीमा ६ प्रतिशत कमिसन दिनुपर्ने, धरौटीमा बैंकले दिने सरह ब्याज उपलव्ध गराउनुपर्ने माग गर्नु भयो ।

कार्यक्रममा एशोसिएशनका सल्लाहकार विरेन्द्र यादव, एमके मिया, पुर्व अध्यक्ष राजेन्द्र गुप्ता, मध्यपश्चिम पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष टिपि न्यौपाने, रोडाढुंगा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गोपाल ज्ञवाली, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, एशोसिएशनका महासचिव हरेराम कसौधन, कानुनी सल्लाहकार महेन्द्र पाण्डे, प्रेस सल्लाहकार खिमानन्द भट्टराई लगायतले निगम र व्यवसायीले एक आपसमा मिलेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिर्नु भएको थियो ।