एमेच्योर सुभाष च्याम्पियन


काठमाडौं, (नेस)
एमेच्योर गल्फर सुभाष तामाङले सुर्य नेपाल गल्फ टूर २०१८–१९ अन्तर्गत छैटो प्रतियोगिता सुर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन्।

शुक्रबार रोयल नेपाल गल्फ क्लबमा भएको अन्तिम दिनमा सुभाषले ३ अन्डर ६५ अंक जोडेर कूल ५ अन्डर २ सय ६७ अंकसहित उपाधि हात पारेका हुन्। १६ वर्षीय युवा खेलाडीले उपाधि हासिल गर्न डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटीमाथि मात्र १ स्ट्रोकको अग्रता बनाए। यस्तै युवा उमेरमा प्रोफेसनल उपाधि जितेका सुभाषले एमेच्योरतर्फ पनि उपाधि हात पारेका थिए।

भुवनले हिजो १ अन्डर ६७ अंक जोडेका थिए। तर सुभाष एमेच्योर भएको हुँदा दोस्रो स्थानमा रहे पनि भुवनले पहिलो पुरस्कार ८४ हजार नगद भने प्राप्त गरे। गल्फमा एमेच्योर खेलाडीको लागि पुरस्कार रकम नदिने प्रावधान रहेको छ।
नेपाली गल्फको प्रतियोगितामा सुभाष उपाधि जित्ने चौथो एमेच्योर खेलाडी हुन्। यसअघि शिवराम श्रेष्ठले सुर्य नेपाल वेस्टर्न ओपन २००५ जितेका थिए। यस्तै रूपक आचार्यले सुर्य नेपाल सेन्ट्रल ओपन २०१० को उपाधि जितेका थिए। यसै सिजनमा सुक्रबहादुर राईले सुर्य नेपाल इस्टर्न ओपनको उपाधि हात पारेका छन्।