जानी नजानीबाट निरिशा र मनीषको आशा

0
Shares

फिल्म जानी नाजानीमार्फत डेब्यु गरेकी नवनायिका निरिशा बस्नेतले आफू यो फिल्मलाई लिएर आशावादी रहेको बताएकी छिन्। जानी नाजानीमा आफूले अभिनय गरेको भूमिकाले दर्शकको मन जित्नेमा ढुक्क रहेको उनको भनाइ छ। ‘नेपाली फिल्म इन्डिस्ट्रिमा अझै पनि केही कलाकारको फिल्म चल्यो भने फिल्मको अवस्था राम्रै छ भन्ने र अरूको फिल्मलाई वास्ता नगर्ने चलन छ। यसको प्रभाव फिल्ममा आउने हामी जस्ता नयाँ कलाकारलाई पनि गाह्रो पर्ने गरेको छ।’ –भारतीय टेलिसिरियलमा अभिनय गर्न छिट्टै नै मुम्बई जान लागेकी उनी भन्छिन्।

निरिशाले सानो बेलामा हिरोइन बन्छु भन्ने गरे पनि यसलाई परिवारका कुनै पनि सदस्यले गम्भीररूपमा भने नलिएको खुलाइन्। अभिनेता, निर्माता तथा निर्देशक विश्व बस्नेत पुत्री उनले बाल्यकाल सम्झँदै भनिन्– ‘मैले ममीलाई सानो बेला हिरोइन बन्छु भन्दा उहाँले म मरेको एक्टिङ गर्छु तिमी मलाई बोलाएको एक्टिङ गर भन्नुभएको थियो।

मैले ममीलाई रुँदै बोलाएकी थिएँ।’ केही समयअघि भारतीय टेलिभिजनमार्फत प्रसारित टेलिसिरियल चन्द्र नन्दनीमा शीर्ष भूमिकामा अभिनय गरिसकेकी निरिशाले खुलाइन्– ‘म हिरोईन बन्छु भन्दा बाबाले त्यति इन्ट्रेस्ट देखाउनु हुन्नथ्यो। हाम्रोे फिल्म इन्डस्ट्रीमा अझै पनि ग्ल्यामर फिल्डलाई राम्रो रूपले हेरिँदैन। फिल्ममा जोडिएपछि धेरै कुरामा आफूलाई मेन्टेन गर्नुपर्ने हुन्छ। कमाइको हिसाबमा हेर्ने हो भने एउटै फिल्मका लागि एक÷डेढ वर्ष समय दिनुपर्ने हुन्छ। तर, सीमित पारिश्रमिकमा कपडा, मेकअप खानपिनदेखि हरेक कुरामा ध्यान दिनुपर्ने हुन्छ। यस्तो अवस्थामा आफ्नो छोरी हिरोइन बन्नुभन्दा १० देखि ५ बजेसम्मको काम गरोस् भन्ने अभिभावकको इच्छा हुन्छ। सायद त्यही भएर बाबाले मेरो कुरालाई वास्ता गर्नुभएन होला।’ उनले थपिन्– ‘फिल्म क्षेत्रमा कास्टिङ काउचको पनि कुरा आउँछ। तर, नेपालमा भने त्यति समस्या छ जस्तो लाग्दैन।’ निरिशाले अन्य डेब्यु नायिकाले भन्दा राम्रो पारिश्रमिक लिएको दाबी पनि गरिन्।

फिल्मका नायक मनीष श्रेष्ठले दर्शक जानी नजानीको प्रतीक्षामा रहेको बताए। ‘जानी नजानीमा मैले गरेको कामबाट दर्शक खुसी हुनुहुनेछ। फिल्मको गीत र ट्रेलर हेरेर दर्शकले राम्रो कमेन्ट गर्नुभएको छ। त्यस कारण पनि दर्शक प्रतीक्षामा हुनुहुन्छ भन्ने मैले थाहा पाएँ’, उनले भने– ‘सानोमा स्वस्थानीको किताब ढोग्दा पनि म हिरो बनौं भन्थे रे। अहिले साँच्चै नै हिरो भएको छु। आफ्नो कामप्रति धेरै आशा छ। तर, पहिलो फिल्म रानी फ्लप भएपछि एक हप्तासम्म त निकै स्याड भएर घरमा बसें। पछि फेरि सोचें बलिउडमा अमिताभ बच्चनको पनि ११ वटा फिल्म फ्लप भएको थियो भने प्रदीप खड्काको पनि २ वटा फिल्म फ्लप भएको छ। अझै राम्रो काम गर्न सक्छु भन्ने विश्वास भयो र जानी नजानीमा मेहनत गरेर काम गरेको छु।’

आगामी चैत १ गतेदेखि अल नेपाल रिलिजको तयारीमा रहेको फिल्म आधुनिक प्रेमकथामा आधारित रहेको र बच्चा, युवा पुस्तालगायत सबै उमेर समूहका व्यक्तिका लागि बनाइएको यसकी निर्मात्री तथा अभिनेतृ रोशनी केसीको भनाइ छ। ‘फिल्मले पारिवारिक आधुनिक प्रेमकथाका साथै राष्ट्रियता पनि बोकेको छ।’ –उनी भन्छिन्।

वसन्त अधिकारीले निर्देशन गरेको फिल्मको कथा, पटकथा र संवाद सामिप्य राज तिमल्सिनाले लेखेका हुन्। फिल्ममा मनीष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेका छन्। अन्य कलाकारमा प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीलगायत छन्। फिल्ममा संगीत अर्जुन पोखरेल, कोरियोग्राफी कविराज गहतराज, प्रवीण सिंह र शिशिर खाती, छायांकन सञ्जय लामा र सम्पादन अर्जुन जीसीको रहेको छ। रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन्। फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ।