ज्ञानेन्द्र चार खेलमा प्रतिबन्ध


काठमाडौं, (नेस)
काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ललाई आईसीसीको नियमअनुसार घरेलु प्रतियोगिताको चार खेलमा प्रतिबन्ध लगाइएको छ । यसै महिना सम्पन्न धनगढी प्रिमियर लिग (डीपीएल) को क्वालिफायर्स खेलमा सहभागि नजनाएपछि मल्ल प्रतिबन्धमा परेका हुन् । उनलाई डीपीएलका प्राविधिक समितिले कार्वाहीमा पारेपछि मल्लले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ३ स्तरीय छनोटका चार खेल गुमाउनेछन् । महेन्द्रनगर युनाइटेडसँगको दोस्रो क्वालिफायर खेलमा काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा नगर्दा घरेलु टोली फाइनलसम्म पुगेको थियो ।

अंकित दबासलाई बलिङमा प्रतिबन्ध लगाएपछि काठमाडौं गोल्डेन्सले यसको न्याय नपाएसम्म नखेल्ने निर्णय लिएको थियो । तर अन्तार्राष्ट्रिय प्रतियोगिताअनुसार जुन प्रतियोगिताको कारण प्रतिबन्ध लाग्नु पर्ने हो त्यो चाहि भएको छैन । मल्लले डीपीएलमा मात्रै चार खेलमा खेल्न नपाउने प्रावधान हुनु पर्ने हो । तर प्राविधिक समितिले घरेलु टी २० मै चार खेल खेल्न नपाउने गरी कार्वाही गरिने निर्णय लिएको छ ।

मल्लले यसबारे निर्णय प्रति कुनै गुनासो नभएको नेपाल समाचारपत्रलाई जनाए । उनले बताए—टोलीले नखेल्ने भनेपछि मैले खेल्न कुरै भएन । जुन वहाँहरुले प्रतिबन्धको निर्णय लिनुभयो त्यसमा मैले सम्मान गर्नुपर्छ । क्रिकेट भन्दा माथि कुनै छैन । यसैले मैले ममाथिको प्रतिबन्धको निर्णयप्रति कुनै गुनासो गर्नु छैन ।
काठमाडौं प्रदेश ३ छनोटको पहिलो खेल आज हुँदैछ ।

काठमाडौले नुवाकोटसँग प्रतिस्पर्धा गर्नेछ भने शनिबार चितवन र आईतबार भक्तपुरको सामना गर्नेछ । मल्ल आजको खेलको लागि तयारीमा थिए । उनले समूह चरणको तीन खेलका साथै टोली सेमिफाइनल पुगेमा त्यो खेल पनि खेल्न पाउनेछैनन् । टोेली सेमिफाइनल पुगेर हारेमा वा जितेमा पनि मल्लले अर्को खेल खेल्न पाउनेछन् ।