बर्लिन पर्यटन मेलामा बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत

0
Shares

काठमाडौं, (नेस)

बर्दिया राष्ट्रिय निकुञ्जले विश्वकै ठँलो पर्यटन मेला आईटिबीमा पुरस्कृत भएको छ । जर्मनीको बर्लिनमा सय दिगो पर्यटन गन्तव्यमध्ये एसिया प्यासेफिक क्षेत्रबाट दिगो गन्तव्यका रुपमा पुरस्कृत भएको हो ।

मेलाकै अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जले पर्यटनमा गरेको प्रयत्न र यसको संरक्षणमा भएको प्रयासकको कदर गर्दै आइटिबी मेला आयोजक र ग्रिन डेस्टिनेसन संस्थाले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका हुन् । डा. अल्बर्ट सल्मान प्रमुख रहनु भएको दिगो पर्यटन गन्तव्यको छनोट प्रक्रियामा विशेषत दिगो विकासमा काम गर्ने विभिन्न संघ संस्थाको सहकार्य रहेको थियो ।

पुरस्कारसँगै नेपाल ‘ग्रिन डेस्टिनेशन ग्लोबल लिडर्स नेटवर्कमा’ समावेश भएको छ । दिगो पर्यटन विकासमा काम गर्ने संस्थाको सर्वोच्च संस्थाका रुपमा रहेको यस नेटवर्कमा समावेश हुन पाउनु आफंैमा गौरव भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपालले विशेषत दिगो पर्यटन विकासका क्षेत्रमा गरेको पहल, बर्दियालगायतका क्षेत्रमा बाघको संख्यामा देखिएको दोहोरो वृद्धिका कारण नै बर्दियालाई यो सम्मान प्रदान गरिएको जनाइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको यही विशेषताको जानकारी विश्वव्यापी गराउने नेपाल पर्यटन बोर्डको अभियानलाई अगुवाइ गर्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सम्मान ग्रहण गर्नुभएको थियो । उक्त सम्मान समारोहमा बोल्दै कार्यकारी प्रमुख जोशीले बर्दिया विशिष्ट दिगो गन्तब्य भएको बताउनुभयो । सहकार्य गर्ने सबै संस्था विशेषत डब्लुडब्लुएफ, राष्ट्रिय प्रकृति संरक्षण कोष, इको टुरिज्म सोसाइटी बर्दियालगायत स्थानीयको योगदान रहेको जोशीले उल्लेख गर्नु भएको बोर्डले जनाएको छ ।