‘नेकपाको सरकारले पश्चिम सेती बनाउँछ ’

0
Shares

डोटी, (नेस)
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपाको वर्तमान सरकारले पश्चिम सेती परियोजना बनाउने बताउनुभएको छ । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा बुधवार आयोजना गरिएको स्वास्थ्य सरसफाई कार्यक्रमको उद्घाटन गर्न त्यहाँ पुग्नु भएका मुख्यमन्त्री भट्टले सो कुरा बताउनु भएको हो ।

बहु चिर्चित पश्चिम सेती परियोजना वर्तमान सरकारको पहिलो प्राथमिकतामा रहेको उहाँको दाबी छ । ‘हामीले केन्द्र सरकारसँग पश्चिम सेती आफ्नै लगानीमा निर्माण गर्ने भनेर भनेका छौँ,’ उहाँले भन्नुभयो, ‘पश्चिम सेती अब भाषणमा हैन काममा देखिने छ ।’

चिनिया कम्पनी थ्री गर्जेजले पश्चिम सेती बनाउन नसक्ने भन्दै हात झिकेपछी डोटीमा फेरी पश्चिम सेतीको चर्चा सुरु भएको छ । दुई दशक देखी चर्चामा रहेको पश्चिम सेती फेरी सरकारले नै बनाउने चर्चा चलेपछि डोटी लगायत समग्र सुदूरपश्चिम प्रदेशमा अहिले यस विषयमा निकै चर्चा परिचर्चा हुन थालेको छ । चमेलीया जलबिद्युत आयोजनाको सब स्टेशनको डडेल्धुराको स्याउलेमा उद्घाटन गर्नु हुँर्दै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेती नेपालीको लगानीबाट निमार्ण गर्ने बताउनु भएसँगै यहाँ फेरी चर्चा सुरु भएको हो ।

बुधवार बोगटान फुड्सिल गाउँपालिकामा आयोजना गरिएको स्वास्थ्य सरसफाई कार्यक्रमले समग्र जिल्ला भरीमा यसको राम्रै प्रभाव हुने समेत मुख्यमन्त्री भट्टले बताउनुभयो । उहाँले थप भन्नुभयो, ‘डोटीबाट राजधानी खोसियो भनेर चिन्ता नलिनोस बिकास किन भएन भनेर खबरदारी गर्नुहोस हामी बिकास गर्नका लागि तयार छौँ ।’