लामिछाने उत्कृष्ट क्रिकेटर


काठमाडौं, (नेस)
एनसीसीएस–सीप्यान क्रिकेट अवार्ड २०१९ अन्तर्गत उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार स्पिनर सन्दीप लामिछानेले हासिल गरेका छन् ।
मंगलबार भएको पुरस्कार समारोहमा सन्दीपले कप्तान पारस खड्का, दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीलाई पछार्दै लामिछाने उत्कृष्ट पुरुष खेलाडी बन्न सफल भए ।

सो वापत लामिछानेले १ लाख ३२ हजार नगद पुरस्कार पनि हासिल गरेका छन् । सन्दीप नेपाल बाहिर व्यस्त भएकाले उनको पुरस्कार पारसले लिएका थिए । लामिछानेले गएको वर्ष कुल ३२ खेल खेलेर ८५ विकेट हात पारे । उनले वानडेमा ५५ र टी २० मा २९ विकेट लिएका थिए ।

यसैगरी महिला विधामा सीता रानामगर उत्कृष्ट घोषित भइन् । उनले ६६ हजार नगद पुरस्कार हासिल गरेकी थिइन् । उनले कप्तान रुबीना क्षेत्री बेलबासी, करुणा भण्डारी, इन्दु वर्मा र सरिता मगरलाई उछिनेर उत्कृष्ट हुन सफल भएकी थिइन् । यस्तै पुरस्कार समारोहमा उदीयमान खेलाडीको अवार्ड रोहितकुमार पौडेललाई छनोट गरिएको थियो । उनले पनि ६६ हजार नगद पुरस्कार हासिल गरे ।