नेपाल समाचारपत्र, काठमाडौ
कालो सूचीमा रहँदा रहँदै जिल्ला सहकारी संघको अध्यक्ष पदमा साविक नेकपा एमालेको टिकट लिएर विजयी भएका विनोद पराजुली, सचिव दिलीप शर्मा, सदस्य ठाकुर अधिकारीलाई जोगाउन नेकपाको मंगलबार पार्टी कार्यालय बनेपामा भेला बसेको छ ।
भेलामा सुर्यमान दोङ्गको संयोजकत्वमा सहकारीमा अनियमितता गर्ने साविक नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने अध्यक्ष पराजुली सहितका संचालक सदस्य र नेकपा माओवादीबाट प्रतिनिधित्व गर्ने सदस्यहरु सहभागि थिए । अन्य केहि सदस्यहरु छलफलमा सहभागि भएनन् । नेकपा माओवादीबाट कोषाध्यक्ष पदमा निर्वाचित रामकृष्ण अधिकारीले छलफल बहिस्कार गरेका छन् ।
अनियमितताका बारेमा सत्यतथ्य हुँदा हुँदै कारवाहीको सट्टा जोगाउने प्रपञ्च भएको भन्दै अधिकारीले छलफल बहिस्कार गरेको बताएका छन् । यस अघि पनि पार्टी कार्यालय बनेपामा भएको छलफलमा अधिकारीलाई अनियमितता जोगाउन र लुकाएर अगाडी बढ्न निर्देशन भए पछि उनी रिसाएर हिडेका थिए । संचालक समितिको शनिबार दिउसो बसेको बैठकमा अध्यक्ष पराजुली, सचिव दिलिप शर्मा र सदस्य ठाकुर अधिकारीले घाँटी समाएर आक्रमण गर्ने प्रयास गरेपछि भागेका थिए ।
उक्त बैठकले अनियमितता जोगाउन विज्ञप्ती प्रकाशन गर्ने निर्णय गरेको थियो भने कार्यालयको अनियमितताको सूचना बाहिर पठाउने कर्मचारी विरुद्ध कारवाही गर्ने र नयाँ कर्मचारी करारमा नियुक्ति गर्ने निर्णय गरेको थियो । फागुन २० गते म्याद सकिएका कर्मचारी सुदन श्रेष्ठकै नाममा सहकारी मन्त्रालयको सहयोगमा भईरहेको सहकारी बजार विकास कार्यक्रमको ब्यक्तिगत खातामा समेत छानविन गरी कारवाही गर्न माग गरिएको छ ।
नेकपाको छलफलमा छानविन समिति बनाई अनियमितताका बारेमा सामसुम पार्ने प्रस्ताव गरिएको थियो । वडा अध्यक्ष समेत रहेका पराजुली र अन्य संचालकहरुले अनियमितता जोगाउन दिनरात होटलमा बैठक बस्दै आएका छन् । कालो सूचीका वडा अध्यक्ष पराजुली राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालको आर्शिवादमा दौडिरहेका छन् । उनी केन्द्रिय तरकारी फलफुल संघका अध्यक्ष समेत हुन् ।
सोमबार बनेपामा एमाले निकट सहकारीका अध्यक्षहरुको भेला बोलाउँदै अनियमिता ढाकछोप गर्ने प्रयास गरिएको थियो । सहभागिहरुले नक्कली विल काण्डको प्रश्न उठाएपछि अध्यक्ष पराजुलीले स्विकारेका थिए । लेखा समितिले समेत प्रश्न उठाएपछि उनी नाजवाफ भएका छन् ।
अध्यक्ष पराजुली कालो सूचीमा रहँदा रहँदै वडा अध्यक्षको उम्मेदवार भई निर्वाचित भएका थिए । जिल्ला सहकारी संघमा अध्यक्ष समेत रहेका पराजुलीले सहकारी संघबाट स्मारिका प्रकाशन, कम्प्युटर खरिद, कार्यक्रमका नाममा नक्कली कागजात तयार गरी ३५ लाख भन्दा धेरै रकम अनियमितता गरेका छन् भने मन्त्रालयबाट प्राप्त सहकारी बजार विकास कार्यक्रमको ७६ लाख रकम ब्यक्तिगत खातामा जम्मा गरेका छन् ।
वर्तमान संचालक समिति विघटन गरी छानविन समिति मार्फत कारवाही गर्न नेकपाका केहि नेताहरु दौडमा छन् । एउटा समु्ह अनियमितता गर्नेलाई काखी च्यापेर हिडिरहेको छ ।











प्रतिक्रिया