प्रहरीद्वारा सात हेलिकोप्टर माग

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं
नेपाल प्रहरीले गृह मन्त्रालयसँग सातवटा हेलिकोप्टर खरिद गर्न बजेट माग गरेको छ । खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सातवटै प्रदेशमा सातवटा हेलिकोप्टर आवश्यक भएको भन्दै खरिदका लागि प्रहरीले बजेट माग गरेको हो ।

सशस्त्र द्वन्द्वको समयमा पनि प्रहरीले हेलिकोप्टर खरिद गर्नका लागि गृह मन्त्रालयसँग बजेट माग गरेको थियो । तर प्रहरीलाई गृह मन्त्रालयले भने बजेट उपलब्ध गराएको थिएन ।

२०१२ सालमा स्थापना भएको प्रहरी संगठनले पटक–पटक हेलिकोप्टर खरिदका लागि बजेट माग गर्दै आएको छ । हेलिकोप्टर प्रहरीलाई आवश्यक भए पनि गृह मन्त्रालयले अहिलेसम्म हेलिकोप्टर खरिद गर्न बजेट उपलब्ध गराएको छैन ।

दुर्घटनापछिको खोज तथा उद्धारमा जनशक्ति व्यवस्थापनमा हेलिकोप्टर आवश्यक भए पनि प्रहरी संगठनले प्राप्त गर्न सकेको छैन । प्राकृतिक विपद्पछिको खोज तथा उद्धारमा जनशक्ति पठाउनका लागि निजी क्षेत्रको हेलिकोप्टर पठाउनुपर्ने अवस्था रहेको प्रहरीले बताएको छ ।

‘निजी क्षेत्रको हेलिकोप्टर भनेको समयमा नै उपलब्ध नहुने अवस्था बारम्बार भोग्दै आएका छौ’, प्रहरीका एक उच्च अधिकारीले भने– ‘खोज तथा उद्धारमा थप फोर्स पठाउन पहिला नेपाली सेनासँग आग्रह गर्छौ, कुनै बेला सेनाको हेलिकोप्टर पनि समयमा नै उपलब्ध हुँदैन ।’ प्रहरीले निजी क्षेत्रको हेलिकोप्टर प्रयोग गर्दा भाडा निकै महँगो हुने गरेको ती अधिकारीले बताए । देशको भौगोलिक अवस्थाको कारण दुर्घटनास्थलमा पुग्नका लागि हेलिकोप्टर अत्यावश्यकीय साधन भएको प्रहरीले बताएको छ ।

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले सरकारले प्रहरी संगठनलाई हेलिकोप्टर आवश्यक भएको बताउनुभयो । उहाँले नेपाल समचारपत्रसँग भन्नुभयो– ‘दुर्घटनास्थलबाट चाँडोभन्दा चाँडो उद्धार गर्न सहज र छिटो हुने साधन हेलिकोप्टर नै हो, हामीले शुरुमा केन्द्र र क्रमशः सातवटै प्रदेशका लागि सातवटा हेलिकोप्टर माग गरेका छौ ।’

प्रहरी प्रधान कार्यालयले दुई वर्षअघि नै हेलिकोप्टर खरिद गर्नका लागि बजेट माग गर्दै गृह मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो । तर उक्त प्रस्तावमाथि अहिलेसम्म कुनै पनि निर्णय हुन सकेको छैन् । ‘हामीले भौगोलिक वनावटलाई पनि हेरेर दीर्घकालीन योजनाअनुसार सातवटा हेलिकेप्टर माग गरेका हौं’ –प्रवक्ता सुवेदीले भन्नुभयो ।

प्रहरी संगठनसँग हालसम्म एउटा पनि हेलिकोप्टर छैन । हेलिकोप्टर खरिदका लागि ठूलो बजेट लाग्ने बताउँदै उहाँले सरकारले प्रहरी संगठनलाई हेलिकोप्टर खरिद गर्न बजेट उपलब्ध गराउनेमा आशावादी रहेको बताउनुभयो । हेलिकोप्टरबाहेक अन्य यातायातको साधन खरिदका लागि आवश्यक बजेट निकासा भइरहेको बताउँदै उहाँले प्रहरीलाई आवश्यक पर्ने स्रोतसाधन समयसापेक्ष रुपमा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालमा ४ करोडदेखि ७० करोडसम्मका हेलिकोप्टरहरु प्रयोगमा छन् । हेलिकोप्टरको मूल्य सिट तथा उचाइ क्षमताको आधारमा निर्धारण हुन्छ । सरकारी तवरमा भने १० करोडदेखि ७० करोडसम्मका हेलिकोप्टर नेपालमा प्रयोगमा छन् ।