प्रधानमन्त्री ओली र प्रचण्ड झापामा किन ?

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर ।
प्रधानमन्त्री केपी शर्मा ओली इलामको माईनगरपालिकामा रहेको सुखानी शहीद उद्यानमा आयोजित श्रद्धाञ्जलीसभामा सहभागी हुन झापा आइपुगेका छन् । यती एयरलाइन्सको उडानबाट मङ्गलबार मध्यान्ह् साढे बाह्र बजे आएका प्रधानमन्त्री ओलीलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली झापाको चन्द्रगढी विमानस्थल हुँदै झापा र इलामको सीमावर्ती क्षेत्र सुखानीमा हुने कार्यक्रम तर्फ लागेका थिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय बनेका ओली र प्रचण्ड सुखानीको श्रद्धाञ्जलीसभा कार्यक्रममा पहिलो पटक एक साथ झापा आएका हुन् । नेकपाले ४६औँ सुखानी शहीद स्मृति दिवस सुखानी उद्यानमा मनाउने भएपछि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड आएको नेकपाका जिल्ला नेता चिन्तन पाठकले जानकारी दिए । पार्टी एकतापछि नेकपाका दुई अध्यक्षले एकै मञ्चबाट सुखानी शहीद स्मृति दिवसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको पाठकले बताए ।

आन्दोलनका क्रममा माइनगरपालिकाको सुखानी जङ्गलमा हत्या गरिएका पाँच जना शहीद, झापा आन्दोलनका क्रममा बलिदान दिएका चन्द्र डाँगी र रामप्रसाद प्रधानसहित केही दिनअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शनिबार राति निधन भएका पूर्वउपप्रधान तथा नेकपाका नेता भरतमोहन अधिकारीको योगदानको कदर गर्दै सुखानीमा अध्यक्षद्वयले श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन घेराको सुरक्षा योजना बनाइएको थियो ।