सुर्खेतमा रारा राष्ट्रिय महोत्सव हुने, कार्यपत्र र अन्तरक्रियासँगै १३ नाटक

0
Shares

सांस्कृतिक संस्थानले समृद्ध नेपाल सुखी नेपालको अवधारणामा केन्द्रित रही कर्णाली प्रदेशको सुर्खेतमा पहिलोपटक रारा राष्ट्रिय नाटक महोत्सव २०७५ आयोजना गर्ने भएको छ। महोत्सव आगामी फागुन २३ देखि २९ गतेसम्म हुनेछ।

स्थानीय नाट्य संस्था आरंग नेपालको सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले जानकारी गराए। महोत्सवका लागि मुलुकका विभिन्न स्थानका १३ नाटक चयन भएका छन्।

महाप्रबन्धक थापाका अनुसार महोत्सवमा पहिलो दिन आरंग नेपालले नाटक मुसल पर्व मञ्चन गर्नेछ। त्यसै गरी २४ गते सोलुखुम्बु नाट्य समँह सोलुले आरन, खप्तड सांस्कृतिक मञ्च परिवारले छाउ, २५ गते मानव अधिकार मञ्च नेपालले म पहिलो सन्तान किसान जन्माउँछु, कर्णाली कला प्रतिष्ठान सुर्खेतले आमाको सपना मञ्चन गर्नेछन्।

२६ गते गढीमाई नाट्यकला केन्द्र बाराले दहेज आ दारु, सुदँरपश्चिम साहित्यिक समाज कैलालीले श्रीमान् वीरबहादुर, २७ गते साइलेन्स एक्ट काठमाडौंले जिउँदो आकाश, कर्णाली खस सांस्कृतिक मञ्च जुम्लाले फड्को, २८ गते मञ्जरी नाट्य समँह लमजुङले नौगेडी, शान्तिका लागि युवा सञ्जाल बर्दियाले हिटवा तथा अन्तिम दिन २९ गते युथ क्रिएसन थिएटर पोखराले घेरा र ङ समँहले एक बोली एक दाम मञ्चन गर्नेछन्।


महोत्सवअन्तर्गत २४ देखि २८ गतेसम्म दैनिक अन्तरक्रिया हुनेछ। महोत्सवमा देशभरका नाटक मञ्चनसँगै विभन्न विषयमा कार्यपत्र प्रस्तुति र अन्तरक्रिया पनि गरिने महाप्रबन्धक थापाले बताए। जसअन्तर्गत २४ गते डा. सावित्री कक्षपतिले नेपाली रंगमञ्चमा महिला रंगकर्मीको अवस्था र सोही दिन कान्छी महर्जनले नेपाली रंगमञ्च प्रवृत्ति र प्रयोग शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नेछन्। २५ गते प्रवीण पुमाले नेपाली रंगमञ्चमा व्यावसायिक विकास र चुनौती शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नेछन् भने २६ गते चन्द्रप्रसाद पाण्डेयले वर्तमान नेपाली रंगमञ्चमा मञ्चीय प्रस्तुतिको अवस्था र चुनौती, अशोक थापाले नेपाली रंगमञ्चको वर्तमान अवस्था, चुनौती र भावी कार्यदिशा शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

२७ गते पुरु लम्सालले नेपाली रंगमञ्चमा मिथक तथा सांस्कृतिक प्रभाव र सोही दिन प्रवीण खतिवडाले नाटक र सिनेमा अन्तरसम्बन्ध शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नेछन् भने २८ गते डा. अभी सुवेदीले नेपाली रंगमञ्च र अन्तर्राष्ट्रिय रंगमञ्चको सम्बन्ध शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नेछन्। सोही दिन रमेश रञ्जन झाले नेपाली रंगमञ्चमा मञ्चीय प्रस्तुतिको अवस्था र चुनौती शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नेछन्।
‘पछाडि परेको प्रदेशका रूपमा कर्णालीलाई लिइएका कारण यसपटक राष्ट्रिय नाटक महोत्सव कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्न लागिएको हो। महोत्सवका लागि यसपटक हामीले १३ नाटक चयन गरेका छौं।’ –महाप्रबन्धक थापाले भने।