जनताका नेतालाई सलाम


व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी र देशवासीको मन जित्न सफल नेपालको राजनीतिमा त्यागी नेताको रुपमा चिनिने पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ भई उपचारत अधिकारीको शनिबार राति ९ः३५ मा ह्याम्स अस्पतालमा निधन भएको खबरले सिंगो नेपाल कम्युनिस्ट पार्टीमात्र होइन, समग्र देशवासीलाई स्तब्ध बनाएको छ ।

अरुका आलोचना सुन्ने क्षमता भएका उनी परिपक्व र संस्कारयुक्त राजनीतिज्ञ मानिन्छन् । कानुन र अर्थराजनीतिका विज्ञ अधिकारी ०५१ सालको मध्यावधि निर्वाचनमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा अर्थमन्त्री रहेर नौमहिने कार्यकालमा ‘आफ्नो गाउँ आफैं बनाऔँ’, वृद्धाभत्ता, सामाजिक सुरक्षाजस्ता नाराले लोकप्रियता पाएका थिए । आजपर्यन्त पनि तत्कालीन एमालेले यसैको ब्याज खाइरहेको छ । अर्थमन्त्री अधिकारीले ल्याएको यस कार्यक्रमले आज पनि निरन्तरता पाइरहेको छ । अहिले गाउँ–गाउँमा मोटरबाटो पुग्नु र विकास निर्माणका काम हुनु ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रमको एउटा योगदान मान्न सकिन्छ ।

आफ्नै अनुभवको बुझाइ र निजी क्षेत्रसँग बढ्दो सम्पर्कका कारण भरतमोहन सबैका भरोसाका केन्द्र बन्न पुगेका थिए । अर्थमन्त्री हुँदा पार्टी र सरकारबीच तालमेल मिलाउन सफल उनको नौमहिने कार्यकाल उदाहरणीय बन्न पुग्यो । हालसम्म दर्जनौँ नेताहरु अर्थमन्त्री बने तर उनले जसरी कुनै पनि दलमा नेता र कार्यकर्ताबाट सम्मान पाउन सकेको देखिँदैन ।

वि.सं. १९९३ वैशाख २२ गते महोत्तरीमा जन्मिएका अधिकारीले विराटनगरलाई कार्यक्षेत्र बनाएर राजनीति गरेका थिए । उनले तत्कालीन सोभियत सरकारबाट प्राप्त पीएचडी अध्ययनको छात्रवृत्तिको अवसरसमेत छाडेर वि.सं. २०१७ मा राजा महेन्द्रको कुविरुद्ध संघर्षमा होमिएका थिए । २०४७ सालमा संविधान आयोगका सदस्य भएका अधिकारी २०४८ पछि चारपटक सांसद्मा निर्वाचित भए । पाँचपटकसम्म विभिन्न मन्त्रालय सम्हालेका अधिकारी उपप्रधानमन्त्री हुँदै कार्यवाहक प्रधानमन्त्रीसम्म बने । उनले पार्टी र देशकै निम्ति दूरगामी प्रभाव पार्ने बजेट ल्याउन सकेकै कारण आज उनी सबैको मनमा बस्न सफल भएका छन् । चारपटक अर्थमन्त्री भए पनि उनी व्यक्तिगतरुपमा विवादमा आएनन् ।

मृत्यु शास्वत सत्य हो । उनको निधन उमेरगत हिसाबले सामयिक पनि हो । तर, यस्ता नेताको निधनले देशलाई नै ठूलो अपूरणीय क्षति हुन पुगेको छ । फोक्सो र मुटुमा समस्या भई उपचाररत अधिकारीको जटिल स्वास्थ्य अवस्थाबारे सार्वजनिक खबरबाट उनी धैरै समय रहँदैनन् भन्ने जान्दाजान्दै पनि उनको मृत्युको खबर स्वीकार्न गाह्रो भएको छ । कृत्रिम स्वास–प्रश्वास दिएर भेन्टिलेटरमा राखिएका अधिकारीले शनिबार राति अन्तिम श्वास लिँदै गर्दा नेपाली राजनीतिमा व्यक्तिगत लोभलालच र अवसर छोड्ने नेताको गरिमा उनले राखेर बिदा भएका छन् ।

राजनीतिकालमा अध्ययनशील, विवेकशील र क्रियाशील जीवन बिताएका अधिकारी कम्युनिस्टहरुका आदर्श बन्न पुगेका छन् । आज वास्तविक कम्युनिस्ट नेता भेट्टाउन गाह्रो भइरहेको सन्दर्भमा अधिकारीजस्ता त्यागी नेताबाट आजका नेताहरुले थुप्रै कुरा सिक्न जरूरी भएको छ । उनले अर्थशास्त्रमा एमए र कानुनमा बीएलसम्मको औपचारिक अध्ययन पूरा गरेका थिए । तत्कालीन समयका उनी चर्चित कानुन व्यवसायीसमेत थिए । अधिकारीले चार वर्ष भूमिगत, तीन वर्ष निर्वासन र तीन वर्ष बन्दी जीवन बिताएका थिए ।

पञ्चायतविरुद्ध लामो संघर्ष गरेका अधिकारीले २०४७ सालको संविधान लेखनमा महत्वपूर्ण भूमिका निभाएका थिए । २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गर्दा पनि उनी ८१ दिन नजरबन्दमा परेका थिए । जीवनको उर्वर समय देश र जनताको हितमा लगाएका सच्चा कम्युनिस्ट नेता अधिकारीप्रति हार्दिक श्रद्धाञ्जलि ।
– नरायण पाण्डेय, काठमाडौं ।

बीपी राजमार्गको यात्रा जोखिम
सवारीसाधनको तीव्र गतिका कारण बीपी राजगमार्गमा यात्रुहरु यात्रा गर्न डराउनुपर्ने अवस्था आएको छ । दैनिक सयौँको संख्यामा गुड्ने बुलेरो, हायसलगायतका गाडीहरुको गति तीव्र हुने गर्दछ, जसले गर्दा दुर्घटनाको जोखिम बढाएको छ । विशेष गरी, ठूला गाडीको तीव्र गतिका कारण बीपी राजमार्गमा मोटरसाइकललगायत साना गाडीका लागि सुरक्षा कमजोर बन्दै गएको छ । सवारीचालकको लापरबाहीका कारण राजमार्गमा थुप्रै दुर्घटना भएका छन् । टाइम कार्ड लागु भइरहँदा पनि बीपी राजमार्गमा सवारीसाधनको गति भने घट्न सकिरहेको छैन ।

सिन्धुली जिल्लामा तीन वर्षको अवधिमा सडक दुर्घटनामा परी एक सय एक जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सडक दुर्घटनाको मुख्य कारण तीव्र गति र चालकको लापरबाही रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार यस अवधिमा भएका १ सय ४१ वटा दुर्घटनामा तीव्रगतिका कारण ९२ वटा र चालकको लापरबाहीका कारण ४७ वटा दुर्घटना भएका छन् ।

बीपी राजमार्गमा गुड्ने बुलेरो, हायसलगायत अन्य सवारीसाधनको तीव्र गतिका कारण मोटरसाइकलमा राजमार्गको यात्रा गर्न जोखिम बन्दै गएको छ । ठूला गाडीले साना गाडीलाई पेलेर आउने लगायत साइड नदिने समस्या रहेको मोटरसाइकल चालकहरुले गुनासो पोख्ने गरेका छन् । तसर्थ, सडक सुरक्षालाई बलियो बनाउन बीपी राजमार्गमा गुड्ने हरेक प्रकारका सवारीसाधनको गति नियन्त्रणमा सम्बन्धित निकायले चासो देखाउन जरुरी छ । अतः राजमार्गको सुरक्षा सबैको कर्तव्य भएकाले सबैले सडक सुरक्षालाई प्राथमिकता दिनुपर्छ ।
– सम्झना पौडेल, सिन्धुली, हाल: काठमाडौं ।