नसर्ने रोग व्यवस्थापन गर्न ‘पेन’ कार्यक्रम

0
Shares

बैतडी, (नेस)
बैतडीमा नसर्ने रोगहरुको व्यवस्थापनका लागि नयाँ कार्यक्रम शुरु हुने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा जिल्लाभरी कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले बताए ।

कार्यक्रम अन्तर्गत नसर्ने रोगहरुको पहिचान, उपचार र औषधि निशुल्क रुपमा दिइनेछ । कार्यक्रमअन्तर्गत जिल्लाका ६८ ओटै स्वास्थ्य संस्थामार्फत मधुमेह, श्वासप्रश्वास रोेग, मुटु र रक्तचाप सम्बन्धि रोग, महिलाको स्तनक्यान्सर र पाठेघरको क्यान्सेर पहिचान र उपचार गरिने छ । यसका लागि स्वास्थ्य संस्थाहरुमा उपकरणको व्यवस्था गरिने हेल्थ असिष्टेन्ट पाण्डेयको भनाई रहेको छ ।

नसर्ने रोगहरुको व्यवस्थापन (पेन) कार्यक्रमलाई जिल्लामा प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि ६८ ओटै स्वास्थ्य संस्थाका प्रमुखहरुका लागि तालिम समेत सञ्चालन गरिएको छ । यसपछि ६८ ओटै स्वास्थ्य संस्थाका एक एक जना अहेवहरुलाई पनि तालिम दिइने भएको छ । यसैगरी स्थानीय तहहरुसंग पनि नसर्ने रोगका बिषयमा छलफल र अन्तरक्रिया गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

नसर्ने रोगका बारेमा व्यापक जानकारी गराउनका साथै रोगीहरुको उपचारका लागि पनि कार्यक्रमले सहयोग गर्ने विश्वास गरिएको छ ।