स्थानीय सरकारको पहलमा निःशुल्क स्वास्थ्य शिविर

0
Shares

नेपाल समाचारपत्र, रुकुम
स्थानीय सरकारको जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने लक्ष्यअनुसार रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० को वडा कार्यालयले ल्याव सहितको स्वास्थ्य शिविर संचालन गरेको छ । वडा कार्यालय चुनमा पहिलोपटक ल्याव परीक्षण सहितको स्वास्थ्य शिविर गरेको हो ।

केही समयअघि मात्रै स्वास्थ्य चौकी स्थापना गरेको यो वडाले वडावासीको स्वास्थ्य जाँच र गाउँमै उपचार दिन शिविर गरिएको वडा अध्यक्ष गोप्यश्वर केसीले जानकारी दिनुभयो । शिविरका क्रममा पहिलोपटक गाउँमै विभिन्न रोगको जाँच गरिएको थियो । जसमा २ सय ९२ जनाको उपचार गरिएको वडा सदस्य धनबहादुर खड्काले जानकारी दिनुभयो । जसमा ८७ जनाको सुगर जाँच, ७६ जनाको रक्त समूह परीक्षण र चार जनाको टाइफाइड परीक्षण गरिएको थियो ।

डा.यज्ञप्रसाद बिसीको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीमा स्वास्थ्य चौकी इञ्चार्ज डिल्लीराज बोहरा, अनमी मुना पुन, अहेब हस्तराम ओली, हरि बिष्ट, ध्रुवतरा रोकाय, ल्याब टेक्निसियन देवराज महरा, सहयोगी सामना ओलीसहितले सेवा दिनुभएको थियो । शिविरमा साना बच्चादेखि ८३ बर्षीया पबित्रा खड्कासमेतको स्वास्थ्य जाँच गरिएको थियो । औषधि पनि निशुल्क वितरण गरिएको थियो ।

७० बर्ष नाघेका मात्रै २१ जना ज्येष्ठ नागरिक र २० जना बालबालिकाको पनि स्वास्थ्य जाँच गरिएको थियो । जनतासँग गरिएका बाचाअनुसार कार्ययोजना बनाएर काम गरिरहेको वडा सदस्य खड्काले जानकारी दिनुभयो । मुसिकोट नगरपालिकाले सबै वडाहरुमा स्वास्थ्य, शिक्षाजस्ता आधारभुत सेवालाई प्रभावकारी बनाउने नगरप्रमुख देवीलाल गौतमले बताउनुभयो ।