नेपाल समाचारपत्र, काठमाडौं
बैंकमा ऋण मिलाई दिने भन्दै घुस लिने पर्साका दुई प्रधानाध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरु पर्साका छिपहरमाई गाउँपालिका–४ तुल्सीवरवा स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रभु गिरी र मुडली फूलवरियास्थित श्री रेडक्रस प्राथमिक विद्यालयका प्रधानाध्यापक अब्बास मिया हुन् ।
गिरीले नेपाल बैङ्क लिमिटेड, श्रीपुर शाखा वीरगंजबाट कृषि ऋण मिलाइदिने बहाना बनाई सेवाग्राहीसँग १२ हजार घुस लिएका थिए ।
घुस मागिरहेको सूचनाका आधारमा आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले गिरीलाई घुस लिईसकेको अबस्थामा नियन्त्रणमा लिएको थियो । गिरीलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा अर्का प्रअ मियाले आफ्नो जिम्मेवारी र पदीय दायित्व समेतको ख्याल नगरी कृषि कर्जा लिनका लागि बैंकका कर्मचारीलाई मिलाउनु पर्छ भन्दै सेवाग्राहीसँग रकमको बार्गेनिङ गरेको खुल्न आयो ।
आयोगको अनुसन्धानमा प्रअ मियाले घुस दिन बाध्य पारी सेवाग्रहीसँग पटक पटक गरी ४० हजार रुपियाँ लिईसकेको खुलेको छ । त्यस्को बाँकी रकमको सम्बन्धमा प्रअ गिरी समेतको मिलेमतो देखिएकोले दुबै विरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।











प्रतिक्रिया