रोल्पाका युवा कृषक भन्छन्: कृषिमा गरेको लगानी उठ्दैन, विदेश जानुको विकल्प छैन

0
Shares

महेश न्यौपाने,रोल्पा
कडा परिश्रम गरेर लगाएको तरकारीले उचित मूल्य नपाउदा यहाँका किसानहरु निरास वनेका छन । जिल्लाको पश्चिम दक्षिण भेगका किसानले उत्पादन गरेका वन्दा, गोभी, फुलगोभी, व्रोकाउली जस्ता तरकारी विक्री नभएपछि उनीहरु गाईभैसीलाई खुवाउन वाध्य भएका हुन ।

तरकारी खेतीको राम्रो संभावना भएको मानिने रोल्पाको नुवागाउँ,जुगार, वुढागाउँ र होलेरी आसपासका किसानहरुले उचित वजार मूल्य नपाउदा चिन्तित वनेका हुन । बन्दा, काउली, गोलभेडा,खुर्सानी, प्याज, लसुन,अदुवा , आलु लगायतका तरकारी स्थानीय तथा वाह्य वजारमा विक्री नभएपछि किसानहरुमा लगानी नउठ्ने भएपछि ऋणको मारमा परिने भन्दै उनिहरु चिन्तित वनेका हुन ।

निकै कडा मेहनत र लगानी गरेर फलाएको तरकारीले बजार नपाएपछि किसान आफैले उपभोग गर्ने,नाताकुटुम्व एवम छिमेकीलाई वाडेर र गाईभैसीलाई खुवाएर सिध्याउन थालेका छन । निशुल्क वाडेर वचेको जती वारीमै वेवारिसे अवस्थामा रहेको त्रिवेणी २ दहवनका कृषक पुष्पा घर्तीले भनिन । गत वर्ष तरकारीबाट ५ लाख आम्दानी गरेको थिए, यस वर्ष त लगानी पनि नउठ्ने भयो घर्तीले दुखेसो पोखिन । अघिल्ला वर्ष वजारको यस्तो समस्या देखिएको थिएन घर्तीले भनिन । स्थानीय वजारमा विक्री नभएको तरकारी जिल्ला वाहिर पठाउने गथ्र्यौ घर्तीले भनिन ।

अघिल्लो वर्ष तरकारीबाट राम्रो आमदानी गरेर हौसिएकी त्रिवेणी गाउँपालिका दहवनका कल्पना पुनले यस वर्ष भने डोकोमा तरकारी वोकेर गाउँ गाउँ डुलाए पनि विक्री नभएको गुनासो पोखिन । यस वर्ष त लगानी पनि नउठ्ने भयो पुनले भनिन । विगत ८ वर्ष देखि तरकारी खेती गर्दै आएकी पुनको वारीमा अघिल्ला वर्ष व्यापारीहरु आए पनि यस वर्ष देखा नपरेको गुनासो गरिन ।

रुन्टीगढी गाउँपालिका ७ का किसानले प्रति किलो ३ रुपैयाँका दरले पनि तरकारी विक्री नभएपछि गाई भैसीलाई खुवाउन वाध्य भएको स्थानीय सुगम मगरले वताए । स्वदेशमै स्वरोजार वन्न व्यवसायिक तरकारी खेती अंगालेका युवाहरु निरास भएर विदेश जानुको विकल्प नभएको सुनाउन थालेको मगरले जानकारी दिए ।

किसान र उपभोक्तालाई मारेर पैसा कमाउने विचौलियाका कारण किसानले उचित मूल्य नपाएको स्थानीय लक्षिराम थापाले वताए । फाईदा हुदा मात्रै तरकारी खरिद गर्ने विचौलियाका कारण किसानले घाटा व्यहोरिरहेका छन थापाले भने । भारतवाट आउने सस्तो तरकारीले पनि यहाँका किसान मर्कामा परेका छन थापाले भने ।

जिल्लाका स्थानीय वजारहरु जुगार, होलेरीका साथै नेपालगंज, दाङ, सल्यान र वुटवल सम्म यहाँको तरकारी निर्यात हुने गर्दछ । यस क्षेत्रमा व्यवसायिक तरकारी खेती गर्ने किसानको आकर्षण वढ्दै गएको भए पनि यस वर्षको वजार मूल्यका कारण धेरै किसान निरास भएका छन स्थानीय रुद्र मगरले भने । लाखौ रुपैयाँको तरकारी खेर जाँदा समेत वजारीकरणका लागी स्थानीय सरकार लगायत कुनै पनि निकायले सहयोग गरेनन मगरले भने । व्यवसायिक तरकारी खेती गर्ने किसानको मनोवल उच्च राख्न स्थानीय सरकारले पनि हौसला दिनु पर्छ मगरले भने । ठाउँ ठाउँमा संकलन केन्द्रको स्थापना गरिए पनि जिल्ला वाहिरवाट व्यापारिहरु नआएका कारण तरकारी संकलन केन्द्र सम्म आएका छैनन मगरले भने ।

व्यवसायिक किसानहरुको तरकारी वारीमै कुहिदै गर्दा जिल्ला सदरमुकाम तथा जिल्लाको दोश्रो व्यापरिक केन्द्र सुलिचौरका स्थानीयले भने भारतवाट आयातित तरकारी खान वाध्य भएका छन । वजारीकरणको राम्रो संजाल नहुदा जिल्ला भित्रै उत्पादीत तरकारी उपभोग गर्न नपाएका उनीहरु दाङ हुदै भारतको सिमावर्ती जिल्लावाट भित्रने तरकारी खान वाध्य भएका हुन । यस क्षेत्रमा वन्दा, काउली, प्याज लगायत तरकारीको वजार मूल्य प्रति किलो ३० देखी ७० सम्म रहेको वताईन्छ ।