छात्राहरु विद्यालयमै बेहोस हुन थाले

94
Shares

विनोदसिंह विष्ट, बैतडी
बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ स्थीत मणीलेक माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुमा बेहोस हुने समस्या देखिन थालेको छ । विद्यालयका अध्ययनरत कक्षा ७ देखि माथिका छात्राहरुमा यो समस्या देखिएको विद्यालयले जनाएको छ ।

छात्राहरुमा बेहोस हुने , छट्पटाउने , काम्ने समस्या रहेको प्रधानाध्यापक त्रिभुवनसिंह रावलले बताए । साथै उनीहरुले अरुलाई लखेट्ने पनि गरेका छन् ,केहि महिनाबाट विद्यालयमा यो समस्या रहेको छ प्रधानाध्यापक रावलले भने“ विद्यालयका ५ जना भन्दा बढी छात्राहरुमा यो समस्या देखिने गरेको छ, उनीहरु कहिले कोही — कहिले कोही बेहोस हुने गरेका छन् ” छात्राहरुमा किन यस्तो समस्या छ भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको र यो समस्याले छात्राहरुको पढाईमा बाधा पुगेको विद्यालयले जनाएको छ ।

कहिले विद्यालयमा पुगेर कहिले घरमै र कहिले विद्यालय आउदै गर्दा बाटोमै छात्राहरु एक्कासी बेहोस भईदिदा उनीहरुका अभिभावकहरुलाई पनि समस्या भएको छ ।

छात्राहरु बेहोस हुने समस्या जिल्लाका अन्य विद्यालयमा पनि बेला बेलामा देखिने गरेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र प्रसाद अवस्थीले बताए । यो समस्या जिल्लाका अधिंकास विद्यालय र अन्य जिल्लामा पनि रहेको भन्दै यसको कारण पत्ता लागेको छैन् उनले भने“ यस्तो समस्या निरन्तर भइरहे मनोविमर्शकर्ता बोलाएर देखाउछौं”

स्वास्थ्यकर्मीहरुले पनि यो समस्याको समाधान गर्न नसकेको अभिभावक बताउछन् । छात्राहरुमा मानसिक तनाबले यो समस्या हुने स्वास्थ्यकर्मीहरुको भनाई छ । एकजनालाई हुदाँ अरुले डर मान्दा उनीहरुलाई पनि यो समस्या देखा पर्ने गरेको जिल्ला अस्पताल बैतडीका मेडिकल अधिकृत डाक्टर देवेन्द्र लेखकले बताए । यो समस्या समाधानको लागी धेरै नसोच्ने , भिडभाड भएको ठाउँमा नजान लेखकको सुझाव रहेको छ ।