“गाउँमै उच्च शिक्षा हासिल गर्न पाइन्छ”

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीले ग्रामीण क्षेत्रमै गरीब नागरिकका छोराछोरीले उच्च शिक्षा पढ्न पाउने वातावरण बनाउने तर्फ लाग्ने बताएका छन् । दोगडाकेदार गाउँपालिका ३ खोचलेक स्थित श्रीकोट बहुमुखी क्याम्पसको शुक्रवार सम्पन्न छैठौं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सांसद भण्डारीले गाउँकै क्याम्पसहरुबाट नागरिकका छोराछोरीले उच्च शिक्षा हाँसिल गर्न पाउनुपर्ने र त्यो वातावरण बनाउनका लागि आफू लागि परेको बताए ।

यस्तै सोही समारोहलाई सम्बोधन गर्दै बैतडी क्षेत्र नम्बर क बाट निर्वाचित प्रदेश सांसद प्रेमप्रकाश भट्टले युग सुहाउँदो शिक्षा आजको आवश्यकता भएकाले यसका लागि सबैले लाग्नुपर्ने उद्घोष गरे ।

यस्तै दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले गाउँपालिकामा शिक्षाको गुणस्तरमा सुधार आइरहेको बताए ।
बार्षिकोत्सव समारोहमा क्याम्पस प्रमुख दान बहादुर कार्कीले क्याम्पसको वार्षीक आयव्वयय विवरण प्रस्तुत गर्नुभएको थियो । जस अनुसार आय ७९ लाख ९१ हजार ९ सय ९८ रुपैँया रहेको थियो भने व्यय ७३ लाख ८५ हजार ७ सय ३७ रुपैँया रहेको थियो । यस्तै क्याम्पसको बचत रकम ५ लाख ६६ हजार २ सय ६१ रुपैँया रहेको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष मगीराम ओडको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की, अन्य जनप्रतिनिधि,शिक्षक अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

वि स २०६९ सालमा स्थापना भएको उक्त क्याम्पसमा हाल स्नातकोत्तर सम्मको पढाई हुने गरेको छ ।