समृद्धिका लागि स्थानीय स्रोत साधनको प्रयोग गरौंः महामन्त्री कोईराला

0
Shares

यमलाल भुसाल, बुटवल ।
नेपाली कांग्रेसका महामन्त्री डा.सशांक कोईरालाले समृद्ध मुलुक निर्माणकालागि स्थानीय स्रोत साधनको प्रयोग बढाउनु पर्ने बताउनु भएको छ । मुलुक समृद्धिको दिशा उन्मुख भएको बताउँदै उहाँले समृद्धिकालागि स्थानीय स्रोत साधनको प्रयोग अनिवार्य भएको उल्लेख गर्नुभयो ।

रुपन्देहीको देवदह नगरपालिकामा देवदह उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको पाँचौं राष्ट्रिय देवदह औद्योगिक मेला कृषि तथा पर्यटन महोत्सवको शुक्रबार उद्घाटन गर्दै महामन्त्री कोईरालाले उत्पादनमुलक क्षेत्रमा लगानी अभिबृद्धि गर्न र युवालाई स्वदेशमै रोजगारीको सिर्जना गरि विदेश पलायन हुने परिस्थितीको अन्त्य गर्न सके समृद्धि हासिल गर्न टेवा पुग्ने बताउनु भयो ।

रुपन्देहीको लुम्बिनी र बुद्धको मावली देवदह पर्यटकीय हिसावले महत्वपूर्ण रहेको बताउँदै बुद्ध मावली देवदहलाई विश्वमानचित्रमा चिनाउन पुरातात्विक स्थलको उत्खनन् गर्न र पर्यटक आकर्षण गर्ने कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । महामन्त्री कोईरालाले सरकारले गरेका राम्रा काममा समर्थन गर्ने र नराम्रा काममा बिरोध गर्ने नेपाली काँग्रेसले नीति लिएको बताउँदै सरकारका नराम्रा काममा विरोध गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेले देवदहको विकासका लागि पर्यटकीय नगरका रुपमा विकास गर्न तथा व्यवसायिक नगरका रुपमा स्थापित गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो ।

‘उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ शुक्रबारदेखि सुरु भएको मेलामा स्थानीय उत्पादन, गर्मेन्ट, घरेलु उद्योग, वित्तिय संस्था, हस्तकाला, होटल, रेष्टुरा, कृषि, कृषिजन्य उत्पादनलगायत ४५ बढी जिल्लाका ३ सय स्टल सहभागि छन् । मेलामा ३ लाख बढी दर्शकले अवलोकन गर्ने र १० करोड बढीको कारोवार हुने अपेक्षा गरिएको उद्योग बाणिज्य संघले जनाएको छ ।