विराटनगरमा नाटक महोत्सव शुरू

0
Shares

सरोज यादव, विराटनगर
विराटनगर–८ हाटखोलास्थित आरोहरण गुरुकुलको सुशीला कोइराला नाटकघरमा प्रदेश–१ मै पहिलोपटक अन्तर्राष्ट्रिय नाटक महोत्सव शुरू भएको छ।

२०३८ सालदेखि निरन्तर कला, साहित्य र रंगमञ्चको क्षेत्रमा काम गरिरहेको आरोहणको विराटनगर शाखाले महोत्सव आयोजना गरेको हो। नाटक महोत्सवको शुभारम्भ गर्दै १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले नाटकको माध्यमबाट समाजलाई सकारात्मक रूपान्तरण गर्न रंगकर्मीलाई आग्रह गरे। ‘रंगमञ्चमार्फत समाज रूपान्तरण गर्न आग्रह गर्दछुु’, उनले भने– ‘प्रदेश सरकारका तर्फबाट नाट्य क्षेत्रका लागि के सहयोग गर्नुपर्छ हामी तयार छौं।’ यसै गरी विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महोत्सवले सांस्कृतिक अन्तरघुलनको सन्देश दिने बताए।

उनले विराटनगर औद्योगिक र राजनीतिक शहर मात्रै नभएर कला, साहित्य र संस्कृतिको शहर पनि भएको बताए।
१० दिनसम्म चल्ने महोत्सवका क्रममा नेपालका ५ नाट्य समँहको प्रस्तुति रहनेछ। आरोहण विराटनगरको विराट पर्व, झोराहाट नाट्य समँहको घरभित्रको अर्को घर, परिवर्तन थिएटर काकडभिट्टाको बिटुलो आख्यान, थिएटर नेपाल उदयपुरको देश बनाउँछु भन्नेहरू र कदम थिएटर दमक झापाको गैंडा टाइम्स महोत्सवमा मञ्चन हुनेछन्।

पाहुना देशका नाट्य समँहमध्ये बंगलादेशको मातब्रिङ, भारतको चम्पावती, श्रीलंकाको लभ एन्ड लाइफ, अफगानस्तानको ता राहायेङ र इटालीको दसाप्रेसिड ओएस–४३ नाटक मञ्चन हुनेछ। महोत्सवका क्रममा इटालीको नाट्य समँहले रंगमञ्चसँगसम्बन्धी तीनदिने कार्याशाला सञ्चालन गर्नेछ। हरेक नाट्य समँहले एउटा विधामा प्रस्तुत गर्ने नाटक साँझ ५ बजेदेखि शुरू हुनेछ।

महोत्सवको शुभारम्भका दिन सांस्कृतिक प्रदर्शनी, महोत्सव अवधिभर पुस्तक, चित्रकला प्रदर्शनीसमेत राखिनेछ। प्रत्येक नाटक मञ्चनपश्चात् मञ्चित नाटकका विषयमा कलाकारका बीच अन्तरक्रियासमेत सञ्चालन गरिने महासचिव विवश पोखरेलले जानकारी गराए। महोत्सवमा आएका विदेशी कलाकारलाई प्रदेश–१ का पर्यटकीय तथा ऐतिहासिक गन्तव्यमा अवलोकन गराइने उनले बताए।

स्थानीय समुदाय र स्थानीय सरकारसँग अन्तरक्रियासमेत हुनेछ। महोत्सवमा साढे २२ लाख रुपियाँ खर्च हुनेछ। यसअघि आरोहणले ३ पटक अन्तर्राष्ट्रिय र १० पटक राष्ट्रिय महोत्सव गरिसकेको छ। आरोहण गुरुकुलले भने एकपटक पँर्वाञ्चल नाटक महोत्सव गरेको थियो। विराटनगर महानगरपालिकाको संरक्षण तथा प्रवद्र्धनमा शुरू भएको महोत्सव फागुन २४ गतेसम्म सञ्चालन हुनेछ। शुभारम्भ समारोहमा राष्ट्रिय सभा सदस्य खेम नेपाली, प्राज्ञ विवश पोखरेल, साहित्यकार, दधिराज सुवेदी, नेकपाका केन्द्रीय सदस्य विनोद ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए।