सरौतोको चुलोचौका

0
Shares

फिल्म सरौतोको राजधानीको सेड्युल सकिएको छ। निर्माण टिमले ललितपुरस्थित सानेपाको इन्टरनेसनल क्लबमा लोकलयको गीतको छायांकन गरी राजधानीको सेड्युल सकाएको हो। गीतमा सुमी मोक्तान र सन्नी सिंह बेहुला तथा बेहुलीको साथीका रूपमा देखिएका थिए।

गीतको यो अंश इम्याजिन सिनका रूपमा फिल्ममा रहने यसका डेब्यु निर्देशक हरि हुमागाईंले जानकारी गराए। ‘स्कुलमा आयोजना गरिएको एउटा कार्यक्रममा हिरोको सम्झनामा आउने सिनको छायांकन गरिरहेका छौं’, हरिले भने– ‘फिल्म र गीतलाई दर्शकले इन्जोय गर्नुहुन्छ। गीत जनजिब्रोमा झुन्डिने किसिमको छ।’ उनले टिमवर्कका कारण सोचिएको र लेखिएको दृश्यलाई कैद गर्न सफल भइरहेको बताए।


छायांकन भइरहेको गीत चुलोचौकामा राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर छ भने राजनकै शब्द र संगीत रहेको छ। यसै फिल्ममार्फत कोरियोग्राफीमा डेब्यु गर्ने तयारीमा रहेकी निलिशा शाक्य पनि यो गीतबाट आशावादी छिन्। ‘गीत जसरी तयारी गरेका थियौं, त्यसैअनुरूप छायांकन भइरहेको छ।’ –उनले भनिन्। गीतबाट सुमी पनि निकै आशावादी छिन्। ‘म लोकलयको गीतमा पहिलोपटक डान्स गरिरहेकी छु र रमाइलो भइरहेको छ।

गीतमा केही नयाँ कन्सेप्ट दिने कोशिस गरेका छौं।’ –उनले भनिन्। गीतमा सुमीसँगै सन्नी पनि फिचर्ड छन्। फिल्म डायरीमार्फत डेब्यु गरेका सन्नीले गीतलाई इन्जोय गरिरहेको बताए। गीतमा बेहुला र बेहुलीका रूपमा क्रमशः पराकर्म पीजेबी राणा र सम्पदा दाहाल देखिएका छन्। स्क्वायर वान क्रिएसन, राइजिङ फिल्म्स एन्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा श्री महर्जन सहनिर्माता रहेका छन्।

एक्सन र रिभेन्जको कथामा बन्ने फिल्ममा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, आमिर गौतम, अरूणा कार्की, सुवाङ्म शाह, लियो ट्यांक, मनीषा पुन मगर, प्रतीक दुलाल, मनोज तामाङलगायतको अभिनय रहेको छ भने राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागार्इंको छायांकन, शंकर महर्जनको एक्सन रहनेछ। राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री र कोशिस क्षत्रीको संगीत रहेको फिल्ममा राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोताङ र केतन क्षत्रीको स्वर रहेको छ। काठमाडौंमा तीन हप्तामा पहिलो सेड्युल सकाएपछि टोली सिम्रौनगढलगायतका तराईको स्थानमा छायांकन गर्न लाग्नेछ।