मानव तस्करलाइ झापाको पूर्वी नाका काँकडभिट्टा सहज

0
Shares

उत्तम नेपाल, भद्रपुर । जनचेतना फैल्याउने काम तीब्र रुपमा अगाडि बढाइएपनि मानव तस्करहरुले विभिन्न उपाय लगाएर नेपाली चेलीहरु बेच्नेक्रम रोकिएको छैन । झापाको पूर्वी नाका काँकडभिट्टाको गेटमा नै माइती नेपाल सहितका धेरैं सङ्घ–संस्थाहरुले सचेतना अपनाउन आग्रह गरेपनि चेलीबेटी बेचिने क्रम नरोकिएको हो । झापाका मुख्य दुइ नाका काँकडभिट्टा र भद्रपुर भएर छिमेकी भारतसँगै तेस्रो मुलुकको गन्तव्यको रोजाइमा पर्नेगर्छन ।

दलालहरुले विभिन्न बहाना बनाएर विषेश गरी काँकडभिट्टाबाट धेरै नेपाली चेलीलाई लैजाने गरेको विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ । यसको मुख्य कारण वैदेशीक रोजगारी नै भएको पाइएको छ । बेचिनेमा अधिकांश अशिक्षित महिला नै रहेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले जानकारी दिए । सरकारले त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थलमा कडाई गरेसँगै दलालहरुले विभिन्न नाकासँगै मुख्य गरी यी नाका प्रयोग गर्ने गरेकोे संयोजक घिमिरेले बताए ।

दलालहरुले रोजगारीको सपना देखाएर अवैध बाटोको प्रयोग गरेर भारत तथा बङ्गलादेशसम्म पु¥याउने अनि त्यस पश्चात इराक, लेबनान, पाकिस्तान लगायतका मुलुकहरुमा नेपाली चेलीहरुलाई बेच्ने गरेको महिलाको क्षेत्रमा काम गर्नेको अनुभव छ । सन् २०१७ मा माइती नेपाल काँकडभिट्टाले भारतका विभिन्न स्थानमा बेचिएका २८ जना महिलाको उद्धार गरेको थियो । सोही समयमा ३ सय १३ जना महिलालाई सम्झाई बुझाई अभिभावकको जिम्मा लगाइएको जनाएको छ ।

गत वर्ष सन् २०१८ मा भारतका विभिन्न स्थानबाट २४ जना महिलाको उद्धार गरेको माइती नेपालले २ सय ५९ जनालाई पूर्वी नाकाबाट फर्काएको संयोजक घिमिरेले जानकारी दिए । काँकडभिट्टा नाका भई अवैध रुपमा विदेश जान खोज्नेहरुमा झापासहित मकवानपुर, सिन्धुपाल्चोकदेखि पूर्व ताप्लेजुङ, इलामसम्मका पहाडी भेगका १५ देखि ४० वर्ष उमेरका महिला बढी रहेको उनको भनाइ छ ।

अवैध रुपमा चेलीबेटी बेचिने क्रमको मूलसमस्या भने बेरोजगारी, घरेलुहिंसा, देखासेखी गर्ने बहानामा धेरै दलालको फन्दामा पर्ने गरेको पाइएको घिमिरेले जानकारी दिए । पछिल्लो समय प्रविधिको विकास भएसँगै दलालहरु भरतमा नै बस्ने र फोन सम्पर्कको माध्यबाट समेत नेपाली चेलीहरुलाई भारतसम्म बोलाउने र उनीहरुको विश्वासमा परेर जाँदा बेचिने क्रम बढदै जानुचिन्ताको विषय बनेको जनाइएको छ ।

मानवबेचविखनमा महिलाहरु समेत सम्लग्न हुनुले चुनौति थपिएको सरोकारवालाहरुको भनाई छ । महिलाले छिट्टै अरुलाई विश्वास गर्ने गरेका कारण पनि धेरै महिलाहरु दलालको फन्दामा पर्ने तथा नजिकका आफन्तहरुले समेत पैसाको लोभ देखाएर चेलीबेटिहरुलाई फसाउने काम गर्ने गरेको झापाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले बताए । कतिपय निर्दोष , बाध्यताका ,गरिबी लगायतका कारणले गर्दा विदेश जाने गरेको डिएसपी श्रेष्ठको बुझाइ छ । रोक्ने काम सँगै जाने काम पनि भइरहेको श्रेष्ठले बताए । रोजगारीको नाममा विदेश जानुपरेमा नेपालकै विमानस्थल मात्र प्रयोग गर्न सुझाव समेत दिएको छ । नचिनेको मान्छेको भरपर्दा धेरैको जीवन बर्बादभएको भन्दै प्रहरीले सबैलाई सजगता अपनाउन आग्रह समेत गरेको छ ।

केहीदिन अघि मानव वेचबिखनको जोखिममा परेर उद्धार गरिएका १ सय ७९ नेपालीलाई माइती नेपालले काठमाण्डौंमा अनुसन्धान गरिरहेको जनाइएको छ । माइती नेपालको पहलमा भारतको मणिपुरबाट उद्धार गरिएको थियो । उनीहरुलाइ झापाको काँकडभिट्टा नाका हुँदै काठमाण्डौ लगिएको छ । नेपालका विभिन्न जिल्लाबाट अवैध रुपमा इराक र संयुक्त राज्य इमिरेट्स (युएई)लगायत तेस्रो मुलक लैजाने क्रममा उनीहरुलाई मानव बेचबिखनमा संलग्न दलालले एक महिनाअघि भारतको उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इम्फाल पुर्याएका थिए ।

माइती नेपालको टोलीले भारतीय प्रहरीसँग सहयोग लिएर ती नेपालीलाई उद्धार गरी पूर्वी नाका काँकडभिट्टाबाट नेपाल फर्काएको घिमिरेले बताए । उद्धार गरिएकामध्ये १ सय ४७ महिला र ३२ पुरुष छन् । करिब २३–२४ जना झापाका महिलाहरु समेत रहेको जनाइएको छ । हाल पूर्नस्थापना केन्द्रमा राखेर दलालको पहिचान गर्ने काम भइरहेको जनाइएको छ ।
प्रहरी,सानाहात ,माइती नेपाल, विश्व सेवा विस्तार र सामी परियोजना यो क्षेत्रमा परिचित छन् । यी निकायको गतिविधिलाइ नियाल्दा झापामा मानव बेचबिखन उल्लेखीय रुपमा सकृय देखिएपनि बेचबिखनको गिरोह झनै सकृय भएको पाइएको छ ।

अन्य सङ्घ संस्था बाहेक जिल्ला प्रहरी कार्यालयको साढे दुइवर्षको तथ्याङ्कलाइ मात्र हेर्ने हो भने गत आर्थिक वर्ष ०७३।७४ भन्दा आर्थिक वर्ष ०७४।७५मा बेचबिखनको अवस्था बृद्धि भएको देखिन्छ । पहिलो वर्ष १० ओटा मुद्दा दर्ता भएभने दोस्रोमा २७ पुगेको छ । उद्दारमा १६ जना छन भने दोस्रोमा ३९ जना पुगेको छ । यस्ता घटनामा संलग्न भएका २३ मध्ये ९ जना अझै फरार रहेका छन् । दोस्रो आर्थिक वर्षमा ३० जना पक्राउ परे भने २० जना अझैपनि फरार रहेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ९ वटा मुद्दा दर्ता भएका छन् । दशजनाको उद्दार गरिएको छ भने बाह्रजना पक्राउ परेको डिएसपी श्रेष्ठले बताए ।

कसरी हुन्छ मानव बेचबिखन?
मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी झुक्याई, जालसाज , प्रपञ्च मिलाई जबरजस्ती , करकापमा पार्ने गरिएको जनाउँछ । त्यस्तै अपहरण , शरीर बन्धक राखी नाजूक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग पनि यसको कारण हो । साथै अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लैजाने गरेका हुन्छन् । त्यस्तै आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँ वा विदेशमा लैजाने वा अरु कसैलाई दिने मानव तस्करको काम हुन आउँछ ।

भारतसँग नेपालको खुल्ला सिमाना, पर्याप्त रोजगारीको अवसरको अभाव, गरिबी, बढदो राजनीतिक अस्थिरता,बाबुआमा संरक्षक नभएका र जोखिममा परेका महिला बालबालिकाहरु बेच–बिखन हुने गरेका छन् । चेलीबेटी बेचबिखनको मुख्यकारण गरीबी,सामाजिक बिभेद,अशिक्षा, अज्ञानता आदि हुन् । मानव बेचबिखनमा संलग्न बिभिन्न ब्यक्तिहरुको सञ्जाल नै रहेको छ ।

जोखिमपूर्ण अवस्थामा पीडितलाई सरंक्षण दिदै समुदायमा पुर्नस्थापना गर्न सहायता गर्ने र कानूनी उपचारको लागि पीडितलाई सहायता गरेको काम गर्दै आएका सङ्घस्थाले देखाएका छन् । पीडितको पूर्नस्थापना हुन नसक्ने अवस्थामा केन्द्रमा पठाई सिपमुलक तालिम दिने वा अन्य सङ्घ सङ्घस्थामा पूर्नस्थापना गर्ने गरेको पाइएको छ ।