काठमाडौंमै बाक्लो हिमपात

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं । मध्य हिउँदको आखिरी समयमा काठमाडौं उपत्यका सहित देशका उच्च पहाडी र हिमाली भेगमा फेरी बाक्लो हिमपात भएको छ । काठमाडौं उपत्यकामा १२ वर्षपछि हिमपात भएको हो ।

यसअघि २०६३ फागुन २ र २००१ पुस २३ गते उपत्यकामा बाक्लो हिमपात भएको थियो । गत माघ अन्तिम साता आंशिक हिमपात भएपनि १२ वर्षपछि उपत्यकामा बाक्लो हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भू–मध्य सागरबाट भित्रिएको पश्चिमी वायुको प्रभावले हिमपातसँगै पूर्वदेखि पश्चिमी भेगका अधिकांश भेगमा वर्षा भएको विभाग मातहतको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विहीवार विहान अद्यावधिक गरेको मौसमी विवरण अनुसार जुम्लामा सबैभन्दा धेरै ३० मिलिमिटर वर्षा भएको छ भने काठमाडौंमा २९, विरेन्द्रनगरमा २६, ओखलढुंगामा १९, सिमरामा १८ र डडेलधुरामा १५ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी दाङमा १२, पोखरामा ११, दिपायलमा ९,नेपालगञ्जमा ८, धनगढीमा ७ मिलिमिटर र अन्यत्र पनि मध्यम र हल्का वर्षा भएको छ । वर्षा र हिमपातसँगै अधिकांश भेगको तापक्रम पनि घटेको छ ।

जुम्ला, जोमसोम, डडेलधुरा लगायत अन्य उच्च पहाडी भेगको तापक्रम घटेर माइनसमा पुगेको महाशाखाले जनाएको छ । विहीवार जुम्लाको तापक्रम माइनस ३ दशलमव ८, जोमसोम माइनस ३ दशमलव ५ र डडेलधुराको माइनस १ दशमलव २ डिग्री मापन भएको महाशाखाको तथ्यांक छ ।

यसैवीच आज शुक्रवार मौममा केही सुधार हुने र भोलि शनिवार अधिकांश भेगमा मौसम धुमिएर पहाडी भेगमा हल्का वर्षा हुने महाशाखाकी मौसमविद् विभूति पोखरलले बताउनुभयो । आइतवार फेरी पश्चिमी वायुको अर्को प्रभाव भित्रिने भएकाले मौसम पूर्ण रुपमा सफा हुने संभावना नरहेको उहाँको भनाई छ ।